सोमवार, बैशाख ७, २०८३

छोराले छाडेपछि एक्ली परेकी बृद्ध महिला नन्की देवीलाई वडा अध्यक्ष ऐरले दिलाए सुरक्षित आश्रय

 

धनगढी । धनगढी उपमहानगरपालिका वडा नं। ३ मा एक्ली र दयनीय अवस्थामा रहेकी बृद्ध महिला नन्की देवीको वडा अध्यक्ष राज बहादुर ऐरको पहलमा उद्धार गरिएको छ। उनका चार छोराहरू बुहारी तथा बालबच्चासहित भारत गएपछि उनी लामो समयदेखि भाडाको घरमै एक्ली बस्दै आएकी थिइन्।

हालसम्म गाउँघरका छिमेकीहरूले उनको स्याहार–सुसार गर्दै आएका थिए। तर नन्की देवीको अवस्था अत्यन्तै कमजोर र दयनीय देखिएपछि वडा अध्यक्ष ऐरले धनगढीमा रहेको दृष्टि फाउन्डेसनसँग समन्वय गरी उद्धारको व्यवस्था गरेका हुन्।

उद्धारपछि नन्की देवीलाई धनगढी उपमहानगरपालिकाको एम्बुलेन्सको सहयोगमा वडा नं। ३ बाट दृष्टि फाउन्डेसनसम्म सुरक्षित रूपमा लगिएको थियो। हाल फाउन्डेसनमा उनको आवश्यक उपचार, संरक्षण तथा हेरचाह भइरहेको छ।

यस मानवीय कार्यको स्थानीयवासीहरूले उच्च प्रशंसा गरेका छन्। वडा अध्यक्ष राज बहादुर ऐर र दृष्टि फाउन्डेसनकी सञ्चालिका कल्पना भट्टलाई सम्पूर्ण गाउँलेहरूले धन्यवाद दिएका छन् भने आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।