सोमवार, बैशाख ७, २०८३

मोबाइलबाटै सुदूरपश्चिम चिनाउने तयारी: धनगढीमा डिजिटल पर्यटन तालिम सुरु

सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धनलाई डिजिटल माध्यममार्फत नयाँ उचाइमा पु¥याउने उद्देश्यका साथ चार दिने “Digital Capacity Building & Tour Product Development” तालिम धनगढीमा सुरु भएको छ।

नेपाल पर्यटन बोर्डको दीगो पर्यटन परियोजना (STP) को आर्थिक सहयोग, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) केन्द्रको समन्वय तथा साझेदारी र नाट्टा सुदूरपश्चिम प्रदेश संघको आयोजनामा तालिम सञ्चालन गरिएको हो।

तालिमको उद्घाटन नेपाल पर्यटन बोर्ड–संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) अन्तर्गत दीगो पर्यटन परियोजना (STP) का नेशनल प्रोग्राम को–अर्डिनेटर खड्ग बिक्रम शाहले गर्नुभयो। उद्घाटन समारोहमा होटल संघ नेपाल (HAN) सुदूरपश्चिमका अध्यक्ष दिनेशराज भण्डारी, नाट्टा सुदूरपश्चिमका संस्थापक अध्यक्ष माया प्रकाश भट्ट, परियोजना संयोजक धर्म दवाडी, नेपाल राफ्टिङ एजेन्सीज एसोसिएसनका केन्द्रीय सचिव देवराज जैसीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले डिजिटल क्षमताविना आधुनिक पर्यटन प्रवर्द्धन असम्भव भएको बताउनुभयो। “आज सबैको हातमा मोबाइल छ, अब यही मोबाइललाई पर्यटन प्रवर्द्धनको सबल माध्यम बनाउनु आवश्यक छ,” उहाँले भन्नुभयो। सुदूरपश्चिममा रहेका ताल, धार्मिक तथा सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र परम्परालाई फोटो, भिडियो र कथामार्फत डिजिटल प्लेटफर्ममा प्रस्तुत गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने उहाँको भनाइ थियो।

तालिममा डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल व्यवस्थापन, कन्टेन्ट क्रिएसन, फोटोग्राफी, भिडियो स्टोरीटेलिङ र अनलाइन ब्रान्डिङलगायत विषयमा व्यवहारिक प्रशिक्षण दिइने प्रशिक्षक विनय शाक्यले जानकारी दिनुभयो। “सही तरिकाले कथा भन्न सकियो भने सानो ठाउँ पनि ठूलो गन्तव्य बन्न सक्छ,” उहाँले भन्नुभयो।

नाट्टा सुदूरपश्चिम प्रदेश संघका अध्यक्ष पदमविक्रम सिंहले डिजिटल उपस्थितिले पर्यटन क्षेत्रको पहिचान र दिगो विकासमा निर्णायक भूमिका खेल्ने बताउनुभयो। उहाँका अनुसार यस्ता तालिमले स्थानीय व्यवसायी, युवा र समुदायलाई नयाँ अवसरतर्फ उन्मुख गराउनेछ।

तालिममा सुदूरपश्चिमका ट्राभल एजेन्सी सञ्चालक तथा कर्मचारी, कैलाली–कञ्चनपुरका होटल व्यवसायी, होमस्टे सञ्चालकसहित २५ जनाको सहभागिता रहेको छ। सहभागीहरूले तालिमलाई अत्यन्त उपयोगी बताउँदै व्यवहारिक अभ्यासबाट सिक्ने अवसर पाएको प्रतिक्रिया दिएका छन्।

आयोजकका अनुसार तालिमपछि सहभागीहरूले आफ्ना क्षेत्रका पर्यटकीय स्थलहरूको डिजिटल प्रोफाइल तयार गर्ने, सामाजिक सञ्जाल अभियान सञ्चालन गर्ने र दीर्घकालीन रूपमा स्थानीय पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ। यसले सुदूरपश्चिम प्रदेशको पर्यटन सम्भावनालाई उजागर गर्दै आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।