शुक्रबार, बैशाख ४, २०८३

सेती प्रादेशिक अस्पतालमा सेवा समय फेरबदल, ओपिडी अब बिहान ७ बजेदेखि

धनगढी, २६ चैत /  सेवाग्राहीको चाप व्यवस्थापन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सेती प्रादेशिक अस्पतालले आफ्नो सेवा समय परिवर्तन गरेको छ। अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८२ चैत २२ को निर्णय तथा अस्पताल सेवा सुधार कार्यविधि, २०८२ अनुरूप नयाँ समय तालिका लागू गरिएको हो।

नयाँ व्यवस्था अनुसार अब ओपिडी नाम दर्ता सेवा बिहान ७ बजेदेखि अपराह्न २:३० बजेसम्म सञ्चालन हुनेछ। यस्तै, बहिरंग सेवा (ओपिडी) सहित मातृशिशु, सुरक्षित गर्भपतन, एआरटी, निःसन्तान उपचार र क्षयरोग क्लिनिकजस्ता सेवाहरू बिहान ९ बजेदेखि अपराह्न ५  बजेसम्म सञ्चालन गरिने जनाइएको छ।

अस्पतालका अनुसार आकस्मिक, अन्तरङ्ग (इनडोर), आईसीयू, प्रसूति, ओसिएमसी, फार्मेसी, प्रयोगशाला र एक्स–रे सेवा भने पहिलेझैं २४ सै घण्टा सञ्चालनमै रहनेछन्।

यसैबीच, ओपिडी नाम दर्ता र बहिरंग सेवा शनिबार र आइतबार बन्द रहने व्यवस्था गरिएको छ। खाजा समयमा समेत सेवा अवरुद्ध नहुने गरी आलोपालो मिलाएर कर्मचारी परिचालन गरिने अस्पतालले जनाएको छ।