आइतवार, भदौ २८, २०८३

सुदूरपश्चिमाञ्चल कला प्रतिष्ठानको पाँचौँ साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा अम्बिका प्रसाद आचार्य चयन

धनगढी । सुदूरपश्चिमाञ्चल कला प्रतिष्ठान, धनगढीको पाँचौँ साधारण सभा तथा अधिवेशन शनिबार धनगढीमा सम्पन्न भएको छ। कला, साहित्य तथा संस्कृतिको क्षेत्रमा क्रियाशील कलाकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिष्ठानका अध्यक्ष आवेश कुमार चन्दको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ कलाकार तथा शास्त्रीय संगीत गुरु उस्ताद शिवदत्त पन्त प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा राष्ट्रवादी नायक तथा चलचित्र निर्माता, चलचित्र निर्माता संघका निवर्तमान अध्यक्ष एवं चलचित्र कलाकार संघका पूर्व अध्यक्ष नवल खड्का, प्रज्ञा परिषद्की कृष्ण सिराडी, पूर्व अध्यक्ष अम्बिका प्रसाद आचार्य तथा प्रतिष्ठानका संस्थापक अध्यक्ष राजकुमार जोशी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष चन्द्र चौधरी (चाँद) ले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन संस्थाका महासचिव गुणाकर पनेरुले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका कलाकार, स्रष्टा तथा संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
अधिवेशनले प्रतिष्ठानको नयाँ नेतृत्वसमेत चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा अम्बिका प्रसाद आचार्य चयन हुनुभएको छ ।
त्यसैगरी उपाध्यक्षमा रोशन के.सी., सह–सचिवमा गोविन्द मुखिया र कोषाध्यक्षमा केशव बलायर चयन हुनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिका सदस्यहरूमा कान्ति गिरी, पार्वती बम, दिपिका शाही, सौगात सुनार, एञ्जल चौधरी र सरस्वती सेठ्ठी रहनु भएको छ ।
अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै सुदूरपश्चिमको कला, संस्कृति तथा कलाकारको हकहितका क्षेत्रमा प्रतिष्ठानले आगामी दिनमा थप प्रभावकारी रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।