वरिष्ठ पत्रकार तथा गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक युवराज गौतमको पार्थिव शरिर धर्म पत्नी र परिवारका केही सदस्यको पहलमा पशुपति पुर्याइएको छ । हिजो सशस्त्र प्रहरी बल नेपाल अस्पताल बलम्बुमा बितेका उनको आज अन्त्येष्टि गरिँदैछ ।
आर्थिक अभावबाट गुज्रिरहेका उनको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्न लागिएको हो । उनी लामो समयदेखि मृगौला रोगको उपचारमा थिए । पहिले दुबै गोडा सुन्निएको तर केही दिनअघि औषधि खाएपछि पिसाब खुलेको उनले एकजना साथीलाई लेखेको म्यासेजमा उल्लेख छ ।

गौतमले गोडा सुन्निने कम गर्न आयुर्वेदिक पुनर्नवा जस्तो केही औषधिबारे सोधखोज पनि गरेका थिए । अहिले पेट अलि बढेको र हस्पिटल बस्ने मुड नभएको उनले ती मित्रलाई जानकारी गराएका थिए ।
पहिले औषधि गर्दा दुई महिनामा १४ लाख खर्च भएको, आम्दानी नभएको,पुर्ख्यौली थलो इलामको जग्गा बेलैमा नबिक्ने र काठमाडौंको घर बेच्न नसकिने अवस्थामा आफू रहेको कुरो पनि गौतमले गरेका थिए ।