सोमवार, बैशाख ७, २०८३

आसन्न निर्वाचनलाई लक्षित गर्दै कैलालीमा कडा सुरक्षा रणनीति, एसपी चन्दको नेतृत्वमा निगरानी तीव्र


निर्वाचन लक्षित सुरक्षा कडाई : धनगढी क्षेत्रमा राति १० बजेपछि व्यवसाय बन्द गराउँदै प्रहरी सक्रियधनगढी — आसन्न निर्वाचनलाई लक्षित गर्दै कैलाली जिल्लामा सुरक्षा व्यवस्था थप कडाइ गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दको नेतृत्वमा जिल्लाभर निर्वाचन केन्द्रित सुरक्षा रणनीति प्रभावकारी रूपमा लागू गरिएको हो।

पछिल्लो समय धनगढी उपमहानगरपालिका अन्तर्गत चौराहा, पृथ्वी चोक लगायतका मुख्य बजार क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ। एसपी चन्दको कमाण्डमा प्रहरीले राति १० बजेपछि सञ्चालनमा रहेका होटल, पसल तथा अन्य व्यवसायहरू पूर्ण रूपमा बन्द गराउँदै शान्ति सुरक्षा मजबुत बनाउने अभियान सञ्चालन गरेको छ।
निर्वाचन नजिकिँदै जाँदा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न, मतदातालाई सुरक्षित वातावरणमा मतदान गर्ने सुनिश्चितता दिन तथा सामाजिक सद्भाव कायम राख्न सुरक्षा निकाय सक्रिय रूपमा परिचालन गरिएको प्रहरीको भनाइ छ। प्रहरीले मातहतका सबै इकाइलाई उच्च सतर्कतामा राख्दै नियमित गस्ती, निगरानी तथा शंकास्पद गतिविधिमाथि निगरानी बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले आम नागरिक तथा व्यवसायीलाई निर्वाचन अवधिभर सुरक्षा निकायलाई सहयोग गर्न तथा निर्धारित समय र नियम पालना गर्न आग्रह गरेको छ। प्रहरीले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आफूहरू प्रतिबद्ध रहेको जनाएको छ।