धनगढी : प्रतिनिधिसभा निर्वाचनमा आफूलाई निर्णायक शक्ति भएको दाबी गर्दै आएको नेपाली कांग्रेस (बीपी) डडेल्धुरा अहिले जिल्लाभरका मतदातासँग अन्तरसम्वादमा छ। २१ फागुनको निर्वाचनका लागि उम्मेदवार नउठाएको बीपी कांग्रेस डडेल्धुराले जनादेशको आधारमा मतदान गर्ने निर्णय गर्दै गाउँगाउँ पुगेर जनमत संकलन गरिरहेको हो। जनताको राय बुझ्नकै लागि बीपी कांग्रेसका केन्द्रीय उपसभापति कर्णबहादुर मल्लसहितका नेताहरु शनिबार कांग्रेसका निवर्तमान सभापति शेबरहादुर देउवाको गृह पालिका गन्यापधुरा पुगेको थियो।
गन्यापधुराका विभिन्न गाउँ पुग्दै जनताको राय बुझ्ने क्रममा नेताहरुको टोली गन्यापधुरा गाउँपालिका– १ स्थित मटेलामा पुग्यो। मटेला देउवाको गाउँ हो। बीपी कांग्रेसका नेताहरुले देउवाको जन्म घरअघि फोटोसुट पनि गरेका थिए। उक्त फोटोमा बीपी कांग्रेसका उपसभापति मल्लसहित हरि भट्ट, करुणाकर भट्ट लगायतका नेताहरु देखिएका छन्।
बीपी कांग्रेसका उपसभापति मल्ल आफूहरु नेपाली कांग्रेससंग एकताका लागि लचक भएको बताउँदै आएका छन्। तर, एकता नभए जनताको रायअनुसार कुनै एक उम्मेदवारलाई सघाउन बाध्य हुने मल्लको भनाई छ। ‘डडेल्धुरा कांग्रेसका सभापति र नेताहरुलाई भेला राख्न अनुरोध गरेका छौं,’ मल्लले भने, ‘त्यो भेलामा बीपी कांग्रेसका साथीहरुलाई पनि बोलाउन अनुरोध छ। हिजोका कुराको समिक्षा गर्दै सहमति गरेर अगाडि बढ्न आह्वान गरेका छौं।’
मल्ल डडेल्धुरा कांग्रेसको दुई कार्यकाल सभापति भइसकेका नेता हुन्। उनले लामो समय देउवाको सहयोगी भएर काम गरेका छन्। तर, पार्टीको १४औँ महाधिवेशनमा डडेल्धुराको क्रियाशील सदस्यता नवीकरण र वितरणमा देउवासँग विवाद भएपछि मल्ललाई बाहिर राखेर जिल्ला अधिवेशन गरिएको थियो। त्यसपछि देउवा विरोधी छबी बनाएका मल्ल २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने देउवासंगै चुनाव लडेका थिए।
देउवा २५ हजार ५३४ मतसहित विजयी हुँदा बीपी कांग्रेसबाट चुनाव लडेका मल्ल ७ हजार ५३५ मत पाएर तेस्रो भएका थिए।यसपटक उम्मेदवार नहुँदा बीपी कांग्रेस र मल्लले कसलाई सघाउलान् भन्ने चासो डडेल्धुरामा छ ।