लम्कीचुहा प्रादेशिक अस्पताल चाँडै सञ्चालनमा आउने : मुख्यमन्त्री कमलबहादुर शाह
कैलालीको लम्कीचुहा नगरपालिका–५ लम्कीमा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लम्कीचुहा प्रादेशिक अस्पताललाई तत्काल सञ्चालनमा ल्याइने बताउनुभएको छ। उहाँले कानुन तथा प्रचलित ऐनको दायराभित्र रही प्रक्रियागत ढंगले अस्पताल सञ्चालनको काम अघि बढिरहेको स्पष्ट पार्दै यस विषयमा फैलिएका अनावश्यक भ्रममा नपर्न आग्रह गर्नुभयो।
मुख्यमन्त्री शाहका अनुसार, पहिले बलिया स्वास्थ्य चौकीबाट स्तरउन्नति भई १५ शैयाको अस्पतालका रूपमा सञ्चालन हुँदै आएको लम्कीचुहा नगर अस्पताल अहिले ५० शैयाको प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति भइसकेको छ। उहाँले अस्पताल सञ्चालनसँगै दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिँदै कुनै पनि कर्मचारीको रोजीरोटी नखोसिने स्पष्ट पार्नुभयो।
यसैबीच, प्रदेश सरकारले लम्कीचुहा प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा रामबहादुर बिष्टलाई नियुक्त गरेको छ भने सदस्यहरूमा ससिरा शाही, धिरेन्द्र थापा, भीम थारु र हिमाल स्वाँर रहेका छन्।
आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमअनुसार प्रदेश मातहत रहेका अस्पतालहरूको स्तरोन्नति तथा क्षमता अभिवृद्धि गर्ने र बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, डडेल्धुराको जोगबुढा तथा कैलालीको लम्कीचुहा अस्पताललाई प्रदेशस्तरीय अस्पतालका रूपमा विकास गर्ने निर्णय गरिएको थियो।
यसअघि २०८१ असोज १७ गते लम्कीचुहा नगरपालिकाका मेयर सुशीला शाहीको अध्यक्षतामा बसेको अस्पताल विकास समितिको बैठकले १५ शैयाको अस्पताललाई ५० शैयाको प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। सोही आधारमा नगरपालिकाले प्रदेश सरकारलाई अनुरोध गरेपछि मन्त्रिपरिषद्बाट आवश्यक प्रक्रिया अगाडि बढाइएको थियो।
पछि नेपाल सरकारको मन्त्रिपरिषद्ले २०८२ जेठ २६ गतेको निर्णयअनुसार लम्कीचुहा अस्पताललाई प्रदेश सरकारबाटै सञ्चालन हुने गरी ५० शैयामा स्तरोन्नति सहित हस्तान्तरण गर्न स्वीकृति दिएको हो।