धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य अन्तिम चरणमा पुगेको बताएका छन् । प्रदेशसभाबाट विश्वासको मत पाइसकेपछि मुख्यमन्त्री भट्टले अबको एक–दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिए।
हाल मुख्यमन्त्री भट्टले आन्तरिक मामिला तथा कानुन, उद्योग, पर्यटन, वन तथा वातावरण र भौतिक पूर्वाधार विकास मन्त्रालय आफैँसँग राखेका छन् । नेकपा भित्र साबिक नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीबाट एक–एक जना मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त गर्ने तयारी सरकारको छ।
यसअघि गत साउन २९ गते मुख्यमन्त्री भट्टसँगै सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापा, आर्थिक मामिला मन्त्री चक्र मल्ल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दमन भण्डारी र अर्थ राज्यमन्त्री जानकी ऐर बमले शपथ लिएका थिए।
दलहरूभित्र आन्तरिक छलफल सकिए लगत्तै नयाँ मन्त्रीहरूको नियुक्ति र कार्य विभाजन गरिने मुख्यमन्त्रीले बताएका छन् । एक दुई दिनमै मन्त्रीहरूको नाम टुङ्गो लाग्ने बताइएको छ।