शनिबार, भदौ ६, २०८३

ग्रासरुट खेलकुदका समस्या बुझ्न प्रधानमन्त्री कार्यालयको टोली सुदूरपश्चिममा

अत्तरिया – ग्रासरुट खेलकुदका समस्या बुझ्न प्रधानमन्त्री कार्यालयको एक टोली सुदूरपश्चिम आइपुगेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा आइटी इन्जिनियरको रुपमा कार्यरत सलिन मगरको नेतृत्वमा ५ जनाको टोली बुधबार सुदूरपश्चिम आइपुगेको हो।

उनीहरुले खेल क्षेत्रमा सक्रिय रहेका विभिन्न युवा क्लबहरु, संघ संस्थाहरु, खेलाडी तथा प्रशिक्षकहरुसंग भेट गरी समस्या पहिचान गरिरहेका छन् ।

समस्या पहिचान गरी सम्बन्धित निकायसम्म पुर्याउने र समाधानको पहल गर्ने उदेश्यले आफूहरु सुदूरपश्चिम आइपुगेको मगरले बताएका छन् ।

सुदूरपश्चिम, कर्णाली, मधेश र बागमती प्रदेशमा आफूहरुले भ्रमण गरी समस्या ग्रासरुट खेलाडीका समस्या पहिचान गर्ने उनले बताए । सोहीक्रममा आज टोलीले कैलालीको गोदावरी-८ स्याउलेमा रहेको सैपाल युवा क्लबको टोलीसंग क्लबको खेल मैदानमै भेट गरेको छ ।

क्लबका अध्यक्ष रमेश बोगटी, प्रशिक्षकहरु राजेश साउँद र करन बोगटीसहित खेलाडीहरु तथा स्थानीय अगुवाहरु संग भेटघाट गरी टोलीले समस्या टिपोट गरेको छ ।

क्लबका प्रशिक्षक राजेश साउँदले क्लबमा शौचालय, खानेपानी, चेन्जिङ रुमका साथै खेल मैदान वरीपरी तारजाली अति आवश्यक रहेको बताए ।

न्यून पारिवारिक पृष्ठभूमिका खेलाडीहरु प्रशिक्षण लिन आउने भएकोले खेल सामग्री तथा ड्रेस, जुत्ताहरु पनि क्लबले नै व्यवस्थापन गर्नु पर्ने र त्यसका लागि संधै दातृ निकायहरुसंग हात फैलाउनु पर्ने अवस्था रहेको अर्का प्रशिक्षक बोगटीले बताए ।

क्लबसंग कुनै प्रकारको आर्थिक स्रोत नहुँदा प्रतियोगितामा सहभागिता जनाउन समेत मुस्किल पर्ने उनले बताए । क्लबका अध्यक्ष रमेश बोगटीले खेलकुदलाई कुनै पनि क्षेत्रबाट पर्याप्त रकम व्यवस्थापन नहुँदा प्रशिक्षकहरुले निशुल्क प्रशिक्षण गराउँदै आएको बताए ।

सैपाल युवा क्लबले महिलाहरुलाई पनि लामो समयदेखि फुटबल प्रशिक्षण गराउँदै आएकोमा महिला प्रशिक्षक नहुँदा समस्या भइरहेको उनले बताए ।

प्रधानमन्त्री सचिवालयका प्रतिनिधि मगरले क्लबको समस्या समाधानका लागि यथाशिघ्र पहल गर्ने बताए । उनले खेल सामग्री र खेलाडीहरुलाई ड्रेस तथा जुत्ताको व्यवस्था केहि दिनमै गर्ने आश्वासन दिए ।

मगरको टोलीमा हरिश विष्ट, आशिष शर्मा, कमल अधिकारी र विवेक राना सहभागी छन् । टोलीले प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधिहरुसंग पनि भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।