धनगढी, भदौ ५ गते। नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न गैरकानुनी गतिविधि नियन्त्रणका लागि दुई देशका सुरक्षा अधिकारीबीच मासिक सीमा समन्वय बैठक सम्पन्न भएको छ।
भारतको उत्तर प्रदेशस्थित लखिमपुर खिरी जिल्लाअन्तर्गत भारतीय सशस्त्र सीमा बल (एसएसबी) ३ नम्बर बटालियन लखिमपुर खिरीको आयोजनामा भएको बैठकमा सीमा क्षेत्रमा हुने लागूऔषध तस्करी, मलखादको अवैध ओसारपसार, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश, सीमा स्तम्भको अवस्था तथा मानव र वन्यजन्तु तस्करी नियन्त्रणका विषयमा छलफल भएको हो।
बैठकमा भारतीय सशस्त्र सीमा बल ३ नम्बर बटालियनका कमान्डेन्ट प्रमोद देवरानी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्द तथा सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण धनगढीका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर के.सी. सहित नेपाल र भारतका गरी ९ जना सुरक्षा अधिकारीको सहभागिता रहेको थियो।
बैठकमा सीमा क्षेत्रबाट हुने लागूऔषध तस्करी नियन्त्रणका लागि दुवै पक्षबीच नियमित सूचना आदान–प्रदान तथा समन्वयलाई थप प्रभावकारी बनाउने सहमति भएको छ। यस्तै, सीमा क्षेत्रमा हुने मलखादको तस्करी रोक्न पनि दुवै देशका सुरक्षा निकायबीच सहकार्य गर्ने विषयमा छलफल भएको जनाइएको छ।
त्यसैगरी, तेस्रो मुलुकका नागरिकबाट हुनसक्ने अवैध प्रवेश तथा घुसपैठ नियन्त्रण गर्न सीमा क्षेत्रमा निगरानी बढाउने र आवश्यक सूचना एक–अर्काबीच आदान–प्रदान गर्ने सहमति भएको छ।
नेपाल–भारत सीमामा रहेका सीमा स्तम्भहरूको नियमित अनुगमन तथा अतिक्रमण भएका स्थानमा दशगजा क्षेत्र कायम गर्न आवश्यक समन्वय गर्ने विषयमा समेत बैठकमा छलफल भएको छ।
सीमा क्षेत्रमा हुनसक्ने वन्यजन्तु तथा मानव तस्करी नियन्त्रणका लागि सूचना आदान–प्रदान, समन्वय र सहकार्यलाई थप मजबुत बनाउने विषयलाई पनि बैठकले प्राथमिकतामा राखेको छ।
नेपाल र भारतका सुरक्षा निकायबीच हुने यस्ता नियमित समन्वय बैठकले सीमापार अपराध नियन्त्रणसँगै सीमा क्षेत्रमा शान्ति, सुरक्षा र आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।