शुक्रबार, भदौ ५, २०८३

खप्तड यातायातको ‘आसन एक्सप्रेस’ धमाकेदार सुरुवात, टु–वाइ–वान भिभिआईपी सोफा सिटसहित ५ वटा एसी बस धनगढी–काठमाडौं रुटमा सञ्चालनमा

धनगढी, ५ भदौ । खप्तड यातायात प्रा.लि.ले यात्रुलाई थप आरामदायी, सुरक्षित र सुविधासम्पन्न यात्रा सेवा दिने उद्देश्यले टु–वाइ–वान भिभिआईपी सोफा सिटसहितका उच्चस्तरीय एसी बस सञ्चालनमा ल्याएको छ। प्रा.लि.ले पाँच वटा सुविधा सम्पन्न बसमार्फत धनगढीदेखि काठमाडौंसम्म सेवा दिने गरी ‘आसन एक्सप्रेस’को औपचारिक उद्घाटन गरेको हो।
धनगढी बसपार्कमा खप्तड यातायात प्रा.लि.का अध्यक्ष अनन्तराज जोशीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा कथावाचक आचार्य सत्यराज अवस्थी प्रमुख अतिथिका रूपमा सहभागी थिए।
नयाँ सञ्चालनमा आएका ‘आसन एक्सप्रेस’का बसमा टु–वाइ–वान भिभिआईपी सोफा सिटको व्यवस्था गरिएको छ। यात्रुलाई लामो दूरीको यात्रामा समेत सहज र आरामदायी अनुभव दिलाउने उद्देश्यले बसमा आधुनिक तथा सुविधासम्पन्न सेवा उपलब्ध गराइएको प्रा.लि.ले जनाएको छ।
धनगढीदेखि काठमाडौंसम्मको यात्रालाई थप आरामदायी बनाउने लक्ष्यसहित सञ्चालनमा ल्याइएको ‘आसन एक्सप्रेस’ले सुदूरपश्चिमका यात्रुलाई गुणस्तरीय यातायात सेवाको नयाँ विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा राष्ट्रिय यातायात व्यवसायी महासंघका पदाधिकारी, यातायात महासंघका प्रतिनिधि, कैलालीमा सञ्चालित विभिन्न यातायात प्रा.लि.का प्रतिनिधि, यातायात मजदुर तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा यातायात व्यवसायीहरूले व्यवसाय सञ्चालनका क्रममा आफूहरूले भोग्दै आएका विभिन्न समस्या तथा चुनौतीबारे समेत धारणा राखेका थिए। यातायात क्षेत्रको सुधार, व्यवसायीका समस्या समाधान, यात्रुको सुरक्षा तथा यात्रुलाई थप गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा सहभागीहरूले जोड दिएका थिए।
खप्तड यातायात प्रा.लि.ले नयाँ सेवा सञ्चालनसँगै यात्रुको सुविधा र सन्तुष्टिलाई प्राथमिकतामा राखेर यातायात क्षेत्रमा नयाँ अभ्यास स्थापित गर्ने प्रतिबद्धता जनाएको छ।