बिहिबार, भदौ ४, २०८३

आफन्तलाई पीए नराख्न एमाले सुदूरपश्चिमको उर्दी

धनगढी : नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारमा रहेका पार्टीका मन्त्री, राज्यमन्त्री तथा प्रदेशसभा सदस्यहरूको सचिवालयमा कर्मचारी तथा सहयोगी नियुक्त गर्दा आफन्त तथा नातागोताभन्दा योग्य र पार्टीमा सक्रिय व्यक्तिलाई प्राथमिकता दिन निर्देशन दिएको छ।

एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले मन्त्री तथा प्रदेशसभा सदस्यहरूलाई पत्र पठाउँदै सचिवालय नियुक्तिमा आफन्त तथा नातागोतासँग प्रत्यक्ष सम्बन्ध भएका र पार्टीका गतिविधिमा जिल्ला तथा निर्वाचन क्षेत्रमा कम संलग्न व्यक्तिहरू नियुक्त गरिएको भन्दै पार्टीभित्र गुनासो बढेको उल्लेख गरेका छन्।

पत्रमा सचिवालयमा कर्मचारी तथा सहयोगी नियुक्त गर्दा योग्यता, क्षमता, अनुभव, पार्टीप्रतिको प्रतिबद्धता र जिम्मेवारी वहन गर्न सक्ने क्षमतालाई मुख्य आधार बनाउन भनिएको छ।

त्यस्तै, पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध तथा जनसंगठन वा पार्टी कमिटीमा सक्रिय रूपमा काम गरेका व्यक्तिलाई प्राथमिकताका आधारमा अवसर दिन आग्रह गरिएको छ।

प्रदेश कमिटीले जिल्ला तथा प्रदेशमा खटिएर पार्टी संगठनमा काम गरिरहेका व्यक्तिहरूलाई सचिवालय नियुक्तिमा विशेष ध्यान दिनसमेत निर्देशन दिएको छ।

एमाले सुदूरपश्चिममा पछिल्लो समय पार्टी संगठन, जिम्मेवारी र अवसर वितरणका विषयमा असन्तुष्टि देखिँदै आएको छ।