धनगढी, ५ भदौ / सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, पर्यटन तथा मौलिक पहिचानलाई राष्ट्रियस्तरमा उजागर गर्ने उद्देश्यसहित आगामी भदौ १७ गते आयोजना हुने ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ मा बझाङको बुङ्गल नगरपालिका प्रवर्द्धकका रूपमा जोडिएको सुदूरपश्चिम गाईजात्रा सिजन-२ का आर्थिक संयोजक शुभेष पाठकले जानकारी दिए।
सुदूरपश्चिमका कला, संस्कृति, लोकपरम्परा र पर्यटनलाई एउटै मञ्चमार्फत राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले आयोजना हुन लागेको गाईजात्रा सिजन-२ मा बुङ्गल नगरपालिकाको सहभागिताले बझाङको कला, संस्कृति तथा पर्यटकीय सम्भावनालाई समेत राष्ट्रियस्तरमा प्रचार-प्रसार गर्ने अवसर प्राप्त हुने संयोजक सरस्वती भट्टले जानकारी दिनुभयो।
‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ केवल हास्यव्यङ्ग्य तथा मनोरञ्जनमा सीमित नरही प्रदेशको कला, संस्कृति, भाषा, भेषभूषा, लोकपरम्परा र पर्यटनलाई राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने माध्यम बन्ने आयोजकको अपेक्षा छ।
आगामी भदौ १७ गते आयोजना हुने कार्यक्रमले सुदूरपश्चिमका विभिन्न जिल्लाका मौलिक कला तथा संस्कृतिसँगै स्थानीय तहका पर्यटकीय सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउन योगदान पुग्ने विश्वास गरिएको छ। बुङ्गल नगरपालिकाको प्रवर्द्धकीय सहभागिताले बझाङको पर्यटन, संस्कृति र स्थानीय पहिचानलाई थप उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।