शनिबार, भदौ ६, २०८३

अलौकिक प्रसिद्ध देवी बडीमालिका परिचय तथा पदयात्रा स्मरण

बडीमालिका पौराणीक किंबदन्ति

पौराणिक किम्बदन्ती अनुसार देवादिदेव महादेवकी धर्मपत्नी सति देविका पिता दक्ष प्रजापतिले महायज्ञको आयोजना गर्दा महादेव र सति देवी लाई बोलाएका थिएनन्।आफ्ना पति र आफूलाई महायज्ञमा नबोलाएपछि सतिदेविले आफ्ना पिता दक्ष प्रजापतीले सञ्चालन गरेको महायज्ञ स्थलमा गएर पितासँग आफ्ना पति महादेव र आफूलाई नबोलाउनुको कारण सोधिन्। दक्ष प्रजापतीले महादेव भांग, धतुरो सेवन गर्ने, शमसान घाटमा वास गर्ने, गलामा सर्पको माला लगाउने, जटाधारी भेषमा रहने, शरीरभरी खरानी घस्ने, बाघको छालाको पहिरने हुनाले यस महायज्ञमा बस्दा शोभा नदिने भएकाले नबोलाएको कुरा आफ्नी छोरीलाई बताए।आफ्नो पिताको जवाफ सुनेपछि सतिदेवीलाई आफ्ना पतिको अपमान गरिएको महशुस भयो र अपमान सहन गर्न नसकेर यज्ञकुण्डको अग्नीमा हाम फालेर प्राण त्याग गरिन् ।

आफ्नी पत्नि सतिदेवीले दक्ष प्रजापतिले सञ्चालन गरेको महायज्ञमा हाम फालेर प्राण त्याग गरेपछि महादेव रिसाएर विरभद्रादी शिवगणलाई पठाएर दक्ष प्रजापतिलाई मारी दक्ष प्रजापतिले सञ्चालन गरेको यज्ञ तहस नहस पार्न लगाए। आफू भने पत्नी वियोगमा पागल भएर सतिदेवीको मृत शरिर बोकेर पुरा विश्व ब्रहमाण्ड घुम्न थाले। सतिदेवीको मृत शरीर कुहिदै गएपछि महादेव जहाँ जहाँ लास लगेर गए त्यहाँ त्यहाँ सतिदेवीको मृत शरीरको कुहिएको अङ्ग खस्दै (पतन हुँदै) गए । यसरी ठाउँ ठाउँमा सतिदेवीको शरीरका अङ्गहरू पतन हुँदै जान थालेपछि जहाँ जहाँ सतिदवीका अङ्ग पतन भए त्यहाँ त्यहाँ एक एकवटा सिद्ध पिठ (प्रसिद्ध धार्मिक स्थल) बन्दै गए। यसै क्रममा हालको बाजुरा जिल्लाको मल्लागिरी पर्वतमा सतिदेवीको बायाँ कुम पतन भयो। सतिदेवीको बायाँ कुम पतन भएको त्यही पर्वतलाई मालिका र हाल आएर बडीमालिका भनिन थालियो ।

मल्लागिरी पर्वतमा मल्लिका अथवा मालिका देवी शक्ति स्वरूपले रहन थालिन् ।तसर्थ यस स्थानमा बडिमालिका मन्दिर स्थापना गरेर पूजा गर्न थालियो। अर्को भनाई अनुसार पौराणिक कालमा भगवतीले महिषासुर नामको दैत्यको वध गरिसकेपछि कालिकोटको “द्वारेढुंगा“ भन्ने ठाउँमा विश्राम गरेकी थिइन् । पछि गएर द्वारेढुंगामा एकजना दाउरा खोज्न गएको दलित भोकले व्याकुल भई देवीसँग बहरको मासु र हिया गहुँको रोटी माग्यो। देवीले त्यो दलितको मनोरथ पूरा गरिदिइन्। दलितले पूरै बहरलाई एक्लै खान नसकिने भएकाले आफ्नो घरका मान्छेलाई बोलाएछ । उसको घरको मानिसहरूले टाढा भएका कारण सुन्न सकेनन्। तब त्यो दलितलाई रिस उठ्यो। उसले भगवतीलाई भन्यो हे ! प्रमेश्वरी मेरा घरका सबै मान्छे मरुन् । देवीले पनि इच्छाअनुसार वरदान दिइन्। त्यसपछि बहरको मासु लिएर दलित घर गएछ। घरमा हेर्दा त सबै जहानहरू मरेका देख्यो। फेरि दलित रिसायर द्वारेढुंगा पुग्यो । देवी उसलाई देखेर ढोका बन्द गरी त्यहाँबाट भागिन्। दलितले बहरको फिलाले देवीको घरमा हानेको छाप अझै द्वारेढुङ्गामा देखिन्छ।

यसो भएका कारण देवी सधैँका लागि त्यो ठाउँ छोडेर त्रिवेणी, पञ्चपुरी पाटन, मल्लपुरी पाटन हुँदै बडीमालिकामा गएर बसिन् । त्यसैले दलितहरू बडिमालिका जाँदैनन् भन्ने विश्वास गरिन्छ। अन्य भक्तजनहरू जो बाटो देवी गएकी हुन् त्यही बाटो भएर जान्छन् ।

पौराणिक शक्तिपीठका रूपमा ख्याति कमाएको बडिमालिका मन्दिरको शारीरिक संरचना समयक्रमसँगै विभिन्न चरणमा निर्माण, मर्मत र पुनर्निर्माण हुँदै आजको रूपसम्म पुगेको हो । श्री बडिमालिकाको इतिहासबारे अध्येता जहरसिंह थापाको भनाइ उद्धृत गर्दै बाजुराका पत्रकार कृष्ण ओलीले दिएको जानकारी अनुसार सबैभन्दा पहिले बाजुराका दीपराज छत्यालले यहाँ प्रारम्भिक मन्दिर निर्माण गरेका थिए । यही संरचना बडिमालिका मन्दिरको आधारशिला मानिन्छ ।

त्यसपछि, शाके संवत् १५९१ मा जुम्लाका कल्यालवंशी राजा वीरभद्र शाहीले बाजुराको ढाडाकोटस्थित कालापानी भन्ने स्थानबाट ढुंगा ढुवानी गराई बडिमालिकामा भव्य मन्दिर निर्माण गराएका थिए।यो कार्यले मन्दिरको धार्मिक गरिमा र वास्तुकलालाई नयाँ उचाइमा पु¥यायो। कालान्तरमा शाके संवत् १६७९ मा कल्यालवंशी वंशकै राजा शूरदर्शन शाहले मन्दिरको मर्मत गराई थप मूर्तिको स्थापनासमेत गराए ।

यसबाट मन्दिरको धार्मिक र सांस्कृतिक सम्पदा अझ सुदृढ भएको देखिन्छ।त्यसपछि २०३६–०३७ सालतिर तत्कालीन जिल्ला विकास समिति बाजुराका सभापति छत्रबहादुर शाहको अगुवाइ र पैमाका पुजारीहरूको सक्रिय सहकार्यमा मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न गरियो । यस कार्यले बडिमालिका मन्दिरलाई आधुनिक स्वरूपमा पुनःस्थापना गर्ने ऐतिहासिक जिम्मेवारी वहन ग¥यो ।
बिक्रम सम्वत् २०८२ सालमा यहाँको पुरानो मन्दिरको जिर्णोद्वार गरी नेपाली सेनाद्वारा नयाँ मन्दिर निर्माण गरिएको छ।बडीमालिका मन्दिर समुन्द्री सतहबाट ४,२२० मीटर उचाईमा अवस्थित छ।जुन विश्वमा रहेका हिन्दु मन्दिरहरुमध्ये सबैभन्दा अग्लो स्थानमा रहेको हिन्दु मन्दिर हो। नेपाली सेनाले बडिमालिका मन्दिरको पुनर्निर्माण गरी एक महान् कार्य गरेको छ ।यो कार्यले सेनाप्रति उच्च सम्मान व्यक्त गर्दछु।

सरकारी पूजाको चलन

बडीमालिका मन्दिरमा सरकारका तर्फबाट एकजना मुख्य पूजारी बनाइएका छन् । हाल बाजुरा जिल्ला त्रिवेणी नगरपालिका वडा नं. ९ पैमाका नेत्र पाध्याय मुख्य पुजारीका रुपमा रहेका छन् । पैमाका पुजारी नेत्र पाध्याय र उनका दाजुभाइहरू छोराहरूले सरकारी पूजा गराउँछन् । सरकारी पुजा गर्दा सबैभन्दा पहिले डोटी जिल्ला शैलेश्वरी मन्दिरबाट पठाईएको गोरखनाथको टोलीको तर्फबाट सरकारी पुजा हुने गर्दछ भने त्यसपछि जुम्ला जिल्लाबाट चन्दननाथको टोलीको तर्फबाट सरकारी पुजा हुने गर्दछ । त्यसपछि क्रमशः अछाम, बाजुरा र कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा निजका प्रतिनिधिहरु लगायत अन्य कर्मचारीहरूको हातबाट देवीको सरकारी पूजा सम्पन्न हुन्छ।

पछिल्लो समयमा कालिकोट, जुम्ला, मुगु, अछाम, बाजुरा, कैलाली जिल्लाका स्थानीय सरकारका तर्फबाट समेत बडीमालिका मन्दिरमा सरकारी पुजा गर्ने प्रचलन रहेको छ । कैलाली जिल्लामा रहेको

सुदूरपश्चिम प्रदेशको एक मात्र उप–महानगरपालिका धनगढी उप–महानगरपालिकाको तर्फबाट सम्वत् २०८२ साल साउन २३ गतेका दिन पहिलो पटक सरकारी पुजा गरिएको छ । धनगढी उप–महानगरपालिकाका नगर प्रमुख श्री गोपाल हमालको पहलमा २०८२ सालदेखि बडीमालिका मन्दिरमा सरकारी पुजाको थालनी गरिएको हो। पहिलो बर्ष धनगढ़ी उप–महानगरपालिकाबाट खटाईएको टोलीमा करिब ४० जना भन्दा बढी जना कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीले गर्नु भएको थियो ।

बडीमालिका विश्वका प्रमुख हिन्दु मन्दिरहरूमध्येको एक प्रशिद्ध मन्दिर हो। यो मन्दिर नेपालको सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा वडा नं. ६ पन्धारामा पर्दछ। यहाँ प्रत्येक वर्ष साउन शुक्ल त्रयोदशी देखि चतुर्दशीका दिन मुख्य पूजा तथा हवन गरिन्छ। गंगा दशहरामा यहाँको पाती प्रसाद खप्तडमा ल्याएर चढाउने गरिन्छ। बडीमालिकामा २ जिल्लाका पुजारीहरुले पूजा गर्छन्। यी मध्ये १ बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ९ पैमाका हुन् भने अर्को कालिकोटका हुन्। हाल बाजुराबाट मुख्य पुजारीको रुपमा नेत्र पाध्याय रहेका छन् भने कालिकोटबाट हरी धमाला रहेका छन् ।

बडीमालिका दर्शनका लागि सम्भावित पदमार्गहरु

बडीमालिका दर्शनका लागि जाने भक्तजनहरुले त्रिवेणी हुँदै जानु पर्ने हुन्छ। त्रिवेणी बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका र कालिकोटको रास्कोट नगरपालिकाको सिमाना हो । यसको मुख्य भाग बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ५ किम्नीमा पर्दछ। बडीमालिका, त्रिवेणी पदमार्ग बहुमूल्य जडिबुटीको भण्डार पनि हो।

बडिमालिका मन्दिरसम्म पुग्नका लागि कालिकोट र बाजुरा जिल्लाका विभिन्न बाटोहरु प्रयोग गर्न सकिन्छ। कर्णाली प्रदेश र बाजुरा जिल्लाको नजिकको क्षेत्र बाहेक अन्य स्थानबाट बडीमालिका मन्दिर सम्म पुग्नका लागि सबै भन्दा सजिलो बाटो मार्तडी हुँदै जाने बाटो हो। नेपालको राजधानी काठमाण्डौं लगायतका क्षेत्रबाट यो बाटो हुँदै बडीमालिका जानका लागि सुदूरपश्चिम प्रदेशको धनगढीबाट बाजुरा जिल्लाको मार्तडीसम्म सडक यातायातको सुविधा छ। धनगढीबाट दिवा तथा रात्री–सेवाका बसहरु वा आफ्नै निजी सवारी साधनको प्रयोग गरेर एक दिनमा पुग्न सकिन्छ।बाजुराको सदरमुकाम मार्तडीबाट पैदल हिडेर

अर्को दिन फुल चढाउने ठाउँमा पुगेर बास बस्नु पर्ने हुन्छ । फुल चढाउने ठाउँमा एउटा सानो धर्मशाला त छ तर त्यो यात्रुका लागि पर्याप्त हुँदैन । तसर्थ आफैले टेण्ट बोकेर लैजानु बुद्धिमानी हुन्छ। त्यसको भोलीपल्ट भितीचिर्ना बास बस्न सकिन्छ भने पर्सि पल्ट त्रिवेणी पाटन मा बास बस्न सकिन्छ । त्रयोदशीको दिन बिहानै त्रिवेणीमा स्नान गरि बडीमालिका तर्फ लाग्ने हो भने बडीमालिका मन्दिर पुगिन्छ।त्यसैदिन वा भोली पल्ट बडिमालिका देवीकझ दर्शन तथा पुजा गरेर नाटेश्वरी तर्फ हिड्न सकिन्छ।नाटेश्वरी तर्फको बाटो साह्रै भिरालो, अत्यधिक भीर र चिप्लो भएकोले विहान र दिउँसोको समय पारेर हिड्नु सुरक्षित हुन्छ।विहानै हिड्ने हो भने सोही दिन नाटेश्वरी पुगिन्छ भने दिउँसो हिड्दा ठूलागडासम्म बास बस्ने गरी पुग्न सकिन्छ। नाटेश्वरी तर्फ जाँदा विष्णुपानीका अस्थायी होटलमा खाना खान पाईन्छ। ठूलागडा बस्ने हो भने भोलीपल्ट १० बजेसम्म नाटेश्वरी पुगिन्छ।

नाटेश्वरीमा जनैपूर्णिका दिन नाटेश्वरी माईंको दर्शन गरी नजिकै रहेको कालिका मन्दिरमा बलि पुजा गर्ने प्रचलन छ। नाटेश्वरीमा जनै फेर्ने र रक्षा बन्धनको काम पनि गरिन्छ। बलि पुजा गर्नेहरुले भातसँग बोकाको मासु प्रसादको रुपमा खाएर सोही दिन बुढीगंगा नगरपालिकाको बाम्का बजार तर्फ लाग्दछन् । बाम्का बजारबाट धनगढीका लागि बसहरु भेटिन्छन्। त्यही बस वा आफ्नै सवारी साधनबाट धनगढीको यात्रा गर्न सकिन्छ । यसरी यो रुटबाट यात्रा गर्दा कम्तिमा ६ दिन लाग्दछ । तर त्रिवेणी र बडीमालिकाका सुन्दर दृश्यहरु हेर्नका लागि २ दिन थप गरेर ८ दिन लगाउने हो भने १ दिन त्रिवेणी र १ दिन बडीमालिकामा रहेर थप आनन्द लिन सकिन्छ ।

बडीमालिका ४,२२० मिटर उचाईंमा रहेको, बाटोहरु भिरालो रहेको, लेकाली विशालु जडिबुटीहरु फुलेर विष लाग्ने, लेक लाग्ने जस्ता कारणले बडीमालिका पुग्न जो कोहीलाई हम्मे हम्मे पर्दछ। तर पनि देवीको अनुकम्पाले अधिकाँश भक्तजनहरुले यात्रा पुरा गरेका हुन्छन्। बडीमालिकाको यात्रा गर्दा आजकाल ठाउँ–ठाउँमा त्रिपाल राखेर खानाका लागि अस्थायी होटेलहरु राखिएका हुनाले खानाका लागि त्यति समस्या हुँदैन। तैपनि बाटोमा भोक लागेको बेला खानका लागि र बास बस्ने ठाउँमा खानेकुरा नपाएको अवस्थामा खानका लागि सातु वा आफुलाई मन पर्ने शुद्ध शाकाहारी ड्राई फुड बोकेर लैजान सकिन्छ। यसरी बोक्ने सामान भारी (गह्रौं) भने हुनु हुँदैन ।

भारी भयो भने बोकेर हिड्नलाई धेरै गाह्रो हुन सक्छ । लेक लाग्दा सुँघ्नका लागि पुजा गर्ने कपुर बोकिराख्नु भयो भने फाईदाजनक हुन्छ। पोलेको अदुवा, नुन खुर्शानी र टिम्मुर मिश्रित धुलो साथमा राखेर बेला बेलामा खानाले पनि लेक लाग्नबाट बच्न सकिन्छ। धेरै जसो ठाउँमा पानी नपाउने हुँदा पानीमा लागि बोटल साथमा राखेर हमेशा त्यसमा पानी भरिराख्नु पर्दछ। शौच सफा गर्न, मुख पुछ्न ट्वाइलेट पेपर, वेट टिस्यु पेपर साथमा लैजाँदा राम्रो हुन्छ ।

चिसोबाट जोगिन भिक्स, लिप गार्ड, इन्हेलर, कोल्ड क्रिम साथमा राखेर बेला बेला प्रयोग गर्नु बुद्धिमानी हुन्छ । जीउको दुखाई कम गर्न मुभ मलम, सिटामोल ट्याब्लेट जस्ता औषधी साथमा राखिराख्नु पर्दछ।रात्री सुत्नका लागि सिलिपिङ व्याग, टेण्ट, ज्याकेट, थर्मकोल लिनु भयो भने राम्रो हुन्छ ।व्यक्तिगत टेन्टमा सुत्दा हावा ओहोरदोहोर गर्ने झ्याल खोलेर सुत्नु पर्दछ किनकि अक्सिजनको अभावले स्वासप्रस्वासमा समस्या हुन सक्दछ ।

बडिमालिकाको दर्शन गरे चिताएको पुग्छ भन्ने जनविश्वास भएकोलले सुदूरपश्चिम लगायत देश विदेशबाट पनि ठूलो संख्यामा भक्तजनहरु दर्शनका लागि आउने गर्छन्।बडिमालिका देविको पुजा आरधना श्रावण शुक्ल चतुर्दसीका दिन हुने भएकाले त्रियोदशिका दिन त्रिवेणी धाममा स्नान गरिन्छ ।त्रिवेणी धाममा स्नान गरिसकेपछी बडिमालिका माताको स्थलमा गई पुजा गरिसकेपछी पछिल्लो दिन नाटेश्वरिमा गई मन्दिरमा पुजा गरिन्छ र जनैपूणिमा अर्थात रक्षाबन्धनको दिनमा नाटेश्वरी माताको दर्शनसंगै मौरे शिवालयको दर्शन गरी आ–आफ्नो घरतिर लागिन्छ।

बडिमालिका यात्राभरि धेरै कुराको अनुभूति भयो, तर केही सुझावहरुः–

  • सोतापाटनसम्म सडकको अस्थायी ट्रयाक खोलेको देखिन्छ तर यसलाई भितेचिर्नासम्म पुर्याएर सवारी साधन चले भने श्रद्धालु पदयात्रीहरुको पिडामा मलम पट्टि हुन्थ्यो होला।
  • पदमार्गका बास बस्ने सम्भावित स्थानहरु; त्रिवेणी र बडिमालिका क्षेत्रमा शौचालयको व्यवस्था हुन जरुरी देखियो ।यस्तो धार्मिक तथा सांस्कृतिक यात्रामा स्वच्छता अत्यन्त महत्त्वपूर्ण हुन्छ, जुन सबैको स्वास्थ्य र गरिमा दुवैसँग जोडिएको विषय हो ।
  • पदयात्राका क्रममा बाटोमा पिउने पानी, न्युनतम बास तथा खानाको पनि ब्यबस्था भएको भए पदयात्रीहरुले थप भारी बोक्नुपर्ने थिएन।
  •  यात्राका क्रममा प्रयोग भएका नकुहिने प्लास्टिकजन्य वस्तुहरूको व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने देखियो ।
  • हरेक यात्रीले आफ्नो फोहोर आफैँले बोक्ने र अन्त्यमा नाट्यश्वरीमा जम्मा गरेर त्यसको उचित व्यवस्थापन गर्ने प्रणाली विकास गर्नु आवश्यक छ । यसले वातावरण संरक्षणमा सकारात्मक भूमिका खेल्नेछ ।
  • बडिमालिका मन्दिरमा चढाइने भेटीहरूको लेखाजोखा पारदर्शी र व्यवस्थित ढंगले राखिनु जरुरी छ ।ती रकम मन्दिर व्यवस्थापन, विकास, संरक्षण र यात्रु सेवामा खर्च गरिनु अत्यन्तै आवश्यक छ ।
  • सरकारले गर्ने विशेष पूजा कार्यक्रमको समय पनि पहिले नै निर्धारण गरिनु उचित हुनेछ, ताकि सर्वसाधारण भक्तजनलाई मन्दिर दर्शनमा असुविधा नहोस् ।
    यसरी विभिन्न कालखण्डमा भिन्नभिन्न पात्रहरूको योगदानले बडिमालिका मन्दिरले आजको सुसंरचित रूप पाएको हो, जुन श्रद्धा, इतिहास र संस्कृतिको अनुपम प्रतीक बनेको छ।श्री बडिमालिकाजस्तो स्वर्गको टुक्राझैँ रहेको धार्मिकस्थललाई विश्वसामु चिनाउन हामी सबै एक भएर हातेमालो गर्न जरुरी छ । बडिमालिकाको धार्मिक यात्रामा रहनुभएका सबैको यात्रा सफल रहोस्, प्रार्थना छ।

श्री बडिमालिका माताले हामी सबैको कल्याण गरून् !! जय बडिमालिका माता !!