बिहिबार, अशोज २२, २०८३

धनगढीमा मापसे चेकिङ गर्दा मोटरसाइकलले प्रहरी नै ठोकेपछि…

धनगढी : कैलालीको धनगढीमा मादक पदार्थ सेवन जाँचमा खटिएका तीन प्रहरी कर्मचारीलाई मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–२ स्थित पेट्रोल पम्पनजिक बुधबार राति करिब ८ बजेर ५ मिनेटमा ट्राफिक प्रहरीसहितको संयुक्त मापसे चेकिङमा खटिएका प्रहरीलाई मोटरसाइकलले ठक्कर दिएको हो।

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का २३ वर्षीय आशिष चौधरीले चलाएको से ३ प ८९५० नम्बरको मोटरसाइकलले चेकिङमा खटिएका प्रहरी कर्मचारीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीमा कार्यरत प्रहरी हवल्दार राधिका कुमारी शाही, प्रहरी हवल्दार उज्वलसिंह साउँद र प्रहरी सहायक हवल्दार कमला खत्री घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–३ की ३८ वर्षीया शाहीको छाती र दुवै खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। अछामको रामारोशन गाउँपालिका–२ का ३८ वर्षीय साउँदको दुवै खुट्टा र टाउकोमा चोट लागेको छ। उनको अवस्था पनि मध्यम छ।

त्यस्तै, धनगढी उपमहानगरपालिका–३ की ३५ वर्षीया खत्रीको शरीरमा भित्री चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइते तीनै जनाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले मोटरसाइकल चालक चौधरीसँगै मोटरसाइकलको पछाडि सवार कैलालीको बर्दगोरिया गाउँपालिका–६ का १७ वर्षीय समीर चौधरीलाई समेत नियन्त्रणमा लिएको छ। उनीहरूलाई मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको प्रहरीले जनाएको छ।