काठमाडौं। नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनअन्तर्गत आज बिहान १०:३० बजेका लागि तय गरिएको बन्दसत्र वर्षाका कारण प्रभावित भएपछि अपराह्न ४ बजेपछि मात्रै सुरु हुने भएको छ।
खुलामञ्चमा आयोजना गरिएको बन्दसत्रको कार्यक्रम प्रतिकूल मौसम र निरन्तरको वर्षाका कारण तोकिएको समयमा सुरु हुन नसकेकाले समय सारिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
आजको बन्दसत्रमा शीर्ष नेताहरूद्वारा प्रस्तुत विभिन्न महत्वपूर्ण दस्तावेज तथा प्रतिवेदनमाथि भइरहेको छलफललाई टुङ्ग्याएर पारित गर्ने तयारी छ।
यसअघि बन्दसत्रमा सभापति गगनकुमार थापाद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि प्रतिनिधिहरूले धारणा राख्ने क्रम जारी छ।
बन्दसत्रबाट प्रस्तुत सम्पूर्ण प्रस्ताव तथा प्रतिवेदनहरू सर्वसम्मत वा बहुमतका आधारमा आजै पारित गरिनेछ। त्यसलगत्तै भोलिदेखि नयाँ केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गरी महाधिवेशन सम्पन्न गर्ने कांग्रेसको कार्यतालिका रहेको छ।











