भारतबाट लामो यात्रा गरेर घर फर्किएका नेपाली यात्रुहरूलाई कैलालीको त्रिनगर भन्सार नाकामा अटो चालक र सामान बोक्ने बिचौलियाले दुःख दिने गरेको गुनासो बढेको छ।
भन्सार नाकाबाट धनगढी बजारसम्म तोकिएको भाडाभन्दा कयौँ गुणा बढी रकम असुल्ने गरेको यात्रुहरूको आरोप छ । यात्रुसँग सामान बोकिदिने र बाटोमा हुने चेकजाँचमा प्रहरीसँग समन्वय गरिदिने भन्दै अतिरिक्त रकम लिने गरेको उनीहरूको गुनासो छ।
त्रिनगर भन्सार नाकाबाट धनगढी ट्राफिक चौराहसम्मको अटो भाडा ३० रुपैयाँ र धनगढी बसपार्कसम्मको ४० रुपैयाँ तोकिएको छ। तर, केही अटो चालकले यात्रुसँग पाँच सयदेखि आठ सय भारुसम्म असुल्ने गरेको यात्रुहरूले गुनासो गरेका छन्।
भारतको तामिलनाडुबाट फर्किएका आदित्य खड्का पनि त्रिनगर नाका पुग्नेबित्तिकै अटो चालक र सामान बोक्ने बिचौलियाको घेरामा परे।
उनका अनुसार धनगढी बसपार्कसम्म पुग्न अटो चालकले आठ सय भारु मागेका थिए। आदित्यले ट्राफिक प्रहरीसमक्ष गुनासो गरेपछि प्रहरीले सु.प्र.प्र ०१–००१ ह ७८५५ नम्बरको अटो चालकलाई नियन्त्रणमा लियो। प्रहरीको सोधपुछका क्रममा भारतबाट फर्किएका अछामको रामारोशनका कमल परियारसँग पनि सामान बोकेको भन्दै धनगढी बसपार्कसम्म आठ सय भारु लिएको खुलेको थियो।
प्रहरीले कमल परियारबाट असुल गरिएको रकम फिर्ता गर्न लगाएको छ। त्यसपछि सु.प्र.प्र ०१–००१ ह ४७६७ नम्बरको अटो र चालकलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जनाइएको छ।
स्थानीयका अनुसार दैनिक बिहान भारतबाट नेपाल फर्किने नेपाली यात्रुको चाप बढ्ने गरेको भए पनि त्यही समयमा प्रहरीको उपस्थिति भने पर्याप्त नहुने गरेको छ। जसको फाइदा उठाउँदै अटो चालक र सामान बोक्ने बिचौलियाले यात्रुसँग मनपरी रकम असुल्ने गरेको उनीहरूको आरोप छ।
अटो व्यवसायी र सामान बोक्ने व्यक्तिहरूको मिलेमतोमा भारतबाट घर फर्किने नेपाली यात्रुमाथि आर्थिक शोषण भइरहेको गुनासो बढ्दै गएको छ। यात्रुको सहजताका लागि सीमा नाकामा प्रहरी प्रशासनको निगरानी र कडाइ बढाउनुपर्ने उनीहरूको माग छ ।
अटो चालाकभित्रै पनि भारतबाट आउने यात्रुसँग ठूलो रकम असुल्ने प्रवृत्ति बेलाबेलामा गुनासा सुनिन्छन् । एक अटो चालकका अनुसार त्रिनगर नाकाबाट यात्रुलाई महँगो भाडामा चौराहा वा बसपार्कसम्म पुर्याउने र त्यसपछि जिल्लाका अन्य क्षेत्र तथा जिल्लाबाहिर जाने यात्रुलाई थप रकम लिएर बसमा पठाउने गरिएको छ।
यात्रुसँग तोकिएकोभन्दा बढी भाडा असुल्ने जोसुकैलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ठाँउठाँउमा प्रहरी परिचालन गरिएको र सहयाता माग्न सकिने डिएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। भारतबाट लामो यात्रा गरेर नेपाल प्रवेश गर्ने नेपाली यात्रुहरू, विशेषगरी धेरै सामान बोकेका यात्रुलाई अटो चालकले लक्षित गर्ने गरेको गुनासो छ ।
भन्सार नाकामा हुने चेकजाँच र प्रशासनिक प्रक्रियालाई देखाएर यात्रुमा त्रास सिर्जना गर्ने र त्यसकै नाममा अतिरिक्त रकम असुल्ने प्रवृत्तिमाथि पनि सम्बन्धित निकायले निगरानी र छानबिन गर्नुपर्ने देखिएको छ । यात्रुको सहज आवागमनका लागि सीमा नाकामै प्रभावकारी यात्रु सहायता र अनुगमन आवश्यक देखिन्छ ।