काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउ निरन्तर उकालो लागेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले एक महिना अवधिमा सुकेको प्याजको भाउ ३९ प्रतिशत बढेको देखाएको हो ।
४ साउनदेखि ४ भदौसम्म आइपुग्दा प्याजको भाउ प्रतिकिलो औसत २२ रुपैयाँ बढेको छ ।
४ साउनमा प्याज प्रतिकिलो थोकमा न्यूनतम ५३ देखि अधिकतम ५७ र औसत ५४ रुपैयाँमा किनबेच भएको थियो ।
आज ४ भदौमा भने प्याजको भाउ प्रतिकिलो थोकमा न्यूनतम ७५ देखि अधिकतम ७८ र औसत ७६ रुपैयाँ कायम छ ।
असार अन्तिम साता प्याज प्रतिकिलो थोकमा न्यूनतम ५३ देखि अधिकतम ५५ र औसत ५४ रुपैयाँमा किनबेच भएको थियो ।
अहिले कालीमाटी बजारमा भारतबाट मात्रै सुकेको प्याज आइरहेको छ । भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा नेपाली बजारमा पनि मूल्य घटबढ हुने व्यवसायीहरू बताउँछन् ।
थोक मूल्य बढेसँगै बजारमा प्याजको खुद्रा मूल्य पनि बढेको छ ।