बिहिबार, भदौ ४, २०८३

नागरिकतामा छोराको हस्ताक्षरपछि गद्गद् भइन् मोतीकला

रुकुम पश्चिम — रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नं. ७ की मोतिकला ओलीको नागरिकता केही समयअघि पानीमा परेर च्यातिएको थियो । एउटा सरकारी कामका लागि सक्कली नागरिकता आवश्यक पर्ने भएपछि मोतिकलालाई त्यसको प्रतिलिपि निकाल्नैपर्ने भयो र आवश्यक कागजातसहित बुधबार बिहानै उनी यही कामका लागि जिल्ला सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय पुगिन् । नागरिकता जारी गर्ने ठाउँमा थिए उनकै छोरा केशव ।

सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत रहेका मोतिकलाका छोरा केशवले आफ्नै आमाको नागरिकतामा रातो कलमले हस्ताक्षर गरिदिए । आमाको पहिलाको नागरिकता प्रयोग गर्न नमिल्ने हुनु र आफू सहायक प्रजिअ भएकै बेला प्रतिलिपि निकाल्नुपर्ने अवस्था आउनु वास्तवमै एउटा गज्जबको संयोग भएको केशव बताउँछन् ।

‘पानीमा परेपछि आमाको नागरिकता प्रयोग गर्न नसकिने अवस्थामा पुगेको थियो । तर प्रतिलिपि निकाल्नेबारे खास हाम्रो सल्लाह भएको थिएन । अस्ति (मंगलबार) दिउँसो आमाले ‘नागरिकता नबनाई भएन’ भनेपछि मैले नै वडा कार्यालयदेखि अरु कागजात मिलाउने कुरामा सहजीकरण गरे ।’ उनी भन्छन्, ‘अनि यसो सम्झिएँ, आमाको नागरिकताको प्रतिलिपिमा त मैले नै पो हस्ताक्षर गर्न पाउने भएँ । यो कुराले चाहिँ मलाई साह्रै रमाइलो लाग्यो ।’