काठमाडौँ । भारतीय अभिनेत्री तथा भाजपा सांसद कंगना रनौत योगगुरु रामदेवसँग खुलेरै भिडेकी छन् । रामदेवले कंगनाको विगत र युवावस्थामाथि प्रश्न उठाएपछि कंगनाले सामाजिक सञ्जालमार्फत उनलाई कडा जवाफ दिएकी हुन् ।
कंगनाले रामदेवलाई व्यङ्ग्य गर्दै लेखेकी छन्, ‘बाबाजी, मेरो जवानी वा बेडरुमको दिवास्वप्न नदेख्नुहोस् ।’ उनले रामदेवले अफवाह र गफका आधारमा आफ्नो निजी जीवनबारे अनुमान गरेको आरोप लगाएकी छन् ।
कंगनाले आफ्नो जवाफमा रामदेव र पतञ्जलिसँग जोडिएको विगतको विवादसमेत उठाएकी छन् । उनले भनिन्– ‘कम्तीमा झुटा वा भ्रामक प्रभावकारितासम्बन्धी दाबीका कारण सर्वोच्च अदालतबाट मलाई कहिल्यै आरोप लगाइएको छैन ।’
उनले रामदेवलाई चरित्रबारे आफूलाई पाठ नपढाउन चेतावनी दिँदै आफू रामदेवभन्दा ‘धेरै राम्रो चरित्र’ भएको दाबीसमेत गरेकी छन् ।
आखिर विवादको सुरुवात कहाँबाट भयो ?
कंगना र रामदेवबिचको पछिल्लो विवाद भारतमा जेन–जीको प्रदर्शनलाई लिएर सुरु भएको हो । दिल्लीको जन्तरमन्तरमा भएको जेन जी नेतृत्वको प्रदर्शनमा सहभागी केही व्यक्तिहरूले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध आपत्तिजनक भाषा प्रयोग गरेको भन्दै कंगनाले आलोचना गरेकी थिइन् । उनले प्रदर्शनकारीहरूको एउटा समूहलाई ‘जेनेरेसन गटर’ भनेर टिप्पणी गरेपछि विवाद चर्किएको थियो ।
प्रदर्शनको नेतृत्व व्यङ्ग्यात्मक रूपमा गठन गरिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले गरेको थियो । प्रदर्शनकारीहरूले नीट–यूजी प्रश्नपत्र चुहावटलगायतका विषय उठाएका थिए । कंगनाले पछि आफ्नो टिप्पणी सम्पूर्ण युवा पुस्ताविरुद्ध नभएको स्पष्ट पारेकी थिइन् । उनले केही व्यक्ति वा केही महिलाहरूको व्यवहारलाई मात्र लक्षित गरेर आफूले टिप्पणी गरेको दाबी गरेकी छन् ।
उनले लागूऔषध, सट्टेबाजी, जुवा र डार्क वेबजस्ता गतिविधिमा युवाको एउटा हिस्साको संलग्नताबारे कुरा गर्नु सम्पूर्ण युवा पुस्तालाई ‘गटरको पुस्ता’ भन्नु नभएको बताएकी छन् ।
रामदेवले कंगनालाई के भने ?
कंगनाको ‘जेनेरेसन गटर’ टिप्पणीको आलोचना गर्दै रामदेवले उनको विगत र युवावस्थामाथि प्रश्न उठाएका थिए । समाचारमा उद्धृत रामदेवको टिप्पणीअनुसार उनले कंगनालाई लक्षित गर्दै ‘उनका विगतका कामहरू कस्ता थिए र उनको युवावस्था कस्तो थियो ?’ भन्ने प्रश्न गरेका थिए । साेही टिप्पणीपछि कंगना आक्रोशित बनेकी हुन् ।
कंगनाले किन उठाइन् पतञ्जलि विवाद ?
रामदेवलाई जवाफ दिने क्रममा कंगनाले २०२४ मा पतञ्जलि आयुर्वेदका भ्रामक विज्ञापनसम्बन्धी विवादलाई पनि जोडिन् । उक्त मुद्दामा रामदेव र पतञ्जलीका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले सर्वोच्च अदालतसमक्ष निः सर्त माफी मागेका थिए । उनीहरूले भविष्यमा भ्रामक औषधीय दाबी तथा आधुनिक चिकित्साप्रति अपमानजनक टिप्पणी नगर्ने प्रतिबद्धता पनि जनाएका थिए ।
यही घटनालाई संकेत गर्दै कंगनाले रामदेवलाई आफूलाई ‘चरित्रको पाठ’ नपढाउन भनिन् ।
कंगनाको पछिल्लो प्रतिक्रियाले सामाजिक सञ्जाल तातेको छ भने जेन जीको प्रदर्शनमाथिको राजनीतिक विवाद अब दुई चर्चित व्यक्तित्वबिचको व्यक्तिगत आरोप–प्रत्यारोपमा समेत परिणत भएको छ ।