पटक–पटक प्रधानमन्त्री चुनेका झापा–५ का मतदातामा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि सुशासन र स्थिरताको अपेक्षा गरेका छन्।
कान्तिपुरसँगको कुराकानीमा झापा–५ का अधिकांश मतदाताले शान्ति, स्थिरता र सुशासनसँगै सरकारले स्थायित्व पाउनुपर्ने धारणा व्यक्त गरेका हुन्। झापा–५ मा रास्वपा वरिष्ठ नेता शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका थिए। ‘यसपटक नयाँ अनुहार चुनेर पठायौं, अबको सरकार ५ वर्षसम्म चलोस्, सुशासनको बिजारोपण होस्, यत्ति भए पुग्छ,’ दमकका डम्बर खतिवडाले भने।
दमक बजारमा व्यवसाय गर्दै आएका लक्ष्मी काफ्लेले यसअघि पटक–पटक सरकारको नेतृत्वमा पुगेका दल र सरकारी संयन्त्रमा रहेर भ्रष्टाचारको आरोप लागेका व्यक्तिमाथि छानबिन गरिनुपर्ने बताए। ‘नयाँ जोस र जनादेशसहित आएको दलबाट बनेका नयाँ अनुहारले पुराना फाइल पल्टाएर छानबिन सुरु गरून्, दोषी प्रमाणित भएका जोकोहीलाई कानुनी दायरामा ल्याउन सकून् मेरो चाहना यहीँ हो,’ उनले भने।
झापाको गौरादह घर भएर दमक–काठमाडौं बस चलाउँदै आएका विक्रम लिम्बू नवनियुक्त प्रधानमन्त्रीको नेतृत्वमा रहेको सरकारले यातायात क्षेत्रमा रहेका विकृति अन्त्य गर्न कदम चाल्नु पर्ने अपेक्षा गर्छन्।