मङ्लबार, बैशाख ८, २०८३

गोदावरी नगरपालिका वडा नम्बर १२ को वडा कार्यालय भवन उद्घाटन

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ को वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । सोमबार गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले वडा कार्यालय भवनको उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रममा बोल्दै उनले नगरपालिकाले आफूले २०७९ मै सबै वडाका भवन बनाउन खोजेको भए पनि ढिलो भएकोमा दुःखित भएको बताए । उनले नगरपालिका सँग आफ्नो जमिन नभएका कारण भवन निर्माणमा ढिलाइ भएको बताए ।

‘अहिले वडा कार्यालय भवन निर्माणका लागि जग्गादाता पाएपछि यो भवन निर्माण सुरु भएको थियो’ उनले भने ‘नगरपालिकाको विकासका लागि यसरी नै सबैको हातेमालो आवश्यक छ ।’

उनले गोदावरीको वडा नम्बर १० र २ मा केही दिनमा वडा कार्यालय भवनको निर्माण सुरु गर्ने तयारी गरिएको बताउँदै वडा न ३ मा भवन निर्माणाधीन अवस्थामा रहेको बताए । उनले वडा नम्बर ६ मा जमिनको समस्याका कारण भवन बनाउन समस्या भएको बताए । उनले भवन निर्माण कम्पनीले  निर्माण अवधि अगाडि काम सम्पन्न गरेकोमा धन्यावाद ज्ञापन गरे ।

वडाध्यक्ष भीम बहादुर खड्काले आजको दिन वडाका लागि खुसीको कुरा भएको बताए । उनले भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउन नसक्दा ढिलाइ भएको बताउँदै हाल जग्गा उपलब्ध भएपछि सहज रूपमा भवन बनाउन सहज भएको बताए ।

उनले जग्गा दान गरेर सहयोग गर्ने शेर बहादुर लुहार विक र प्रेम बहादुर बडैलालाई धन्यावाद ज्ञापन गर्दै भवन निर्माण अवधि अघि निर्माण सम्पन्न गर्ने उप्रेती बिल्डर्सलाई पनि धन्यावाद ज्ञापन गरे । उनले भवन निर्माण भए पनि वडाका दैनिक कामकाज गर्न निकै सहज भएको बताए ।

उक्त भवन निर्माणका लागि उप्रेती बिल्डर्स एण्ड इन्जिनियर्स प्रालि सँग भ्याटसहित ६२ लाख ६५ हजार २८३ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । भवन निर्माणको म्याद असार मसान्त सम्म भए पनि निर्माण अवधि अघि नै काम सम्पन्न गरिएपछि सञ्चालनमा आएको हो ।

कार्यक्रममा भवन निर्माणका लागि निःशुल्क जग्गा दान गर्ने शेर बहादुर लुहार विक र प्रेम बहादुर बडैलालाई दोसल्ला उडाएर सम्मानित गरिएको थियो । भवन निर्माणका लागि जग्गा दान गर्ने दाताहरूको नाम भवन अघिको निर्माण गरिएको शिलालेखमा समेत उल्लेख गरिएको छ ।