धनगढी– कञ्चनपुरको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफनो २८ औं स्थापना दिवस विभिन्न सामाजिक कार्य गर्दै मनाइरहेको छ ।
सामाजिक उत्तरदायित्व अन्र्तगत सहकारीले शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सक्रिय रुपमा लागिरहेको हो । शनिबार सेवा केन्द्र धनगढीको आयोजनामा संस्थाको २८ औँ स्थापना दिवसको अवसरमा सरससफाई कार्यक्रम गरि मनाइएको छ । धनगढी उपमहानगरपालिका–४ मा अवस्थित शिवपुरी धाम मन्दिर परिसरमा आयोजना गरिएको सरसफाई कार्यक्रममा संस्थाका शेयर सदस्य, कर्मचारी तथा स्थानीय व्यक्तिहरुको सहभागिता रहेको थियो । धार्मिक तथा सार्वजनिक स्थललाई स्वच्छ र सफा राख्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा मन्दिर परिसर तथा आसपासका क्षेत्रमा सरसफाइ गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा सहभागीहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता गतिविधिले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै वातावरण संरक्षण र सार्वजनिक स्थलप्रति नागरिकको जिम्मेवारी बोध गराउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । संस्थाका प्रतिनिधिहरुले सहकारी संस्था केवल आर्थिक कारोबारमा मात्रै सीमित नभई समाजप्रति उत्तरदायी संस्था भएको सन्देश दिन स्थापना दिवसको अवसरमा सरसफाइ कार्यक्रम आयोजना गरिएको जानकारी दिएका छन् ।
संस्थाले विगतका वर्षहरुमा पनि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको बताइएको छ ।
यसअघि केही दिन अगाडि मात्रै संस्थाको अत्तरिया सेवा केन्द्रको आयोजनामा रक्तदान कार्यक्रम समेत गरिएको थियो । उक्त कार्यक्रममा ठूलो संख्यामा स्थानीय युवा तथा संस्थासँग आबद्ध व्यक्तिहरुको सहभागिता रहेको जनाइएको छ । मानव सेवासँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकतामा राख्दै सहकारीले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
स्थापना दिवसलाई औपचारिक कार्यक्रमभन्दा फरक ढंगले समाज उपयोगी कार्यमार्फत मनाइएको भन्दै सहभागीहरुले संस्थाको कार्यप्रति प्रशंसा गरेका थिए । स्थानीय स्तरमा सामाजिक उत्तरदायित्व बहन गर्दै समुदायसँग सहकार्य गर्ने संस्थाको प्रयास उदाहरणीय रहेको सहभागीहरुको भनाइ थियो ।