शुक्रबार, जेष्ठ २२, २०८३

प्रज्ञा प्रतिष्ठानमा प्रदेश सरकारले पार्टीका कार्यकर्ता भर्ती गरेको आरोप

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठानमा पार्टीका कार्यकर्ता भर्तफ गरेको भन्दै चौतर्फी बिरोध भएको छ। मुख्यमन्त्री कमलबहादुर शाह, समाजिक विकास मन्त्री मेघराज खड्का तथा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई काँग्रेस र एमालेका कार्यकर्ताहरूलाई प्रज्ञा प्रतिष्ठानको नियुक्ति वितरण गरेको आरोप लागेको हो। सुदूरपश्चिम क्षेत्रमै बसोबास गर्ने र यतै साहित्यका विभिन्न विधामा कलम चलाउने स्रष्टालाई कुलपति, उपकुलपति लगायतका पदमा नियुक्ति दिनुपर्नेमा मुख्यमन्त्री, सामाजिक विकास मन्त्री र एमाले संसदीय दलका नेता रावलले साहित्य र कलाको क्षेत्रमा सुपरिचित अनुहारहरूलाई नियुक्त गर्न नसकेको भन्दै सरकारको कार्यकर्ता भर्ती गर्ने कदमको खुलेर आलोचना हुन थालेको हो।साहित्यानुरागी मात्रै होइन प्रज्ञा प्रतिष्ठानको नियुक्ति पाएका डाक्टर देवेन्द्रप्रसाद भट्ट र बैतडीका एमाले निकट रामप्रसाद अवस्थीले नै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको सदस्यता अस्वीकार गरेका छन्।धनगढीकी वरिष्ठ साहित्यकार श्रेष्ठ प्रिया पत्थरले सरकारले प्रज्ञा प्रतिष्ठानमा गरेको नियुक्ति प्रति खेद प्रकट गरेकी छन्। उनले सरकारले प्रज्ञा प्रतिष्ठानमा सुटुक्क नियुक्ति गरेको विषय साहित्यिक क्षेत्रमा क्रियाशिल कसैलाई पनि थाहा नदिइएको बताएकी छन्। उनले प्रदेश सरकारले यसै क्षेत्रमा जन्मेको र कर्मथलो बनाएका श्रष्टालाई चिन्न नसको टिप्पणी गर्दै प्राज्ञिक संस्थाको उच्च पदमा पुग्नका लागि कसैले पनि चाकडी गर्दै आत्मसम्मान गुमाउन नहुने बताएकी छन्।यसैगरी, रिता शाहीले कुलपति र उपकुलपति कञ्चनपुरकै नियुक्ति गरिनु गलत भएको बताएकी छन्। उनले गाडीमा तेल हाल्ने र मःम खुवाउन सक्नेलाई पदाधिकारी र सदस्यमा नियुक्ति गरेको भन्दै कटाक्ष गरेकी छन्। उनले अगाडि लेखेकी छन्, ‘एउटा देउडा रेकर्डिङ गर्यो-कलाकार, अनि चाकरी गर्यो प्रज्ञामा पद पायो।’ शाहले सुदूरपश्चिममै जन्मेर सम्पूर्ण जीवन कला साहित्यमा लागाउने व्यक्तिलाई प्रदेश सरकारले चिन्न नसकेको गुनासो गरेकी छन्।बैतडीका साहित्यकार हेमबाबु लेखकले प्रज्ञा प्रतिष्ठानमा नियुक्ति गर्दा प्रदेश सरकारले भद्दा मजाक गरेको टिप्पणी गरेका छन्। उनले प्राज्ञिक क्षेत्रमा राजनीतिक नियुक्ति गरिनु उपयुक्त नभएको बताएका छन्। यस्तै, आनन्दी पन्तले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानलाई ‘पार्टी प्रतिष्ठान’ को संज्ञा दिँदै ती पदहरू ‘झोलेहरू’का लागि पद भएको तीखो टिप्पणी गरेकी छन्। चन्द्रा उपाध्यायले ‘इमानदार झोले’लाई पद दिइएको टिप्पणी गरेकी छन् भने गोविन्द अर्यालले ‘प्रज्ञा प्रतिष्ठानको नियुक्ति देख्दा समग्र सुदूरपश्चिमको साहित्यको उपहास भएको’ बताएका छन्।