शनिबार, जेष्ठ २३, २०८३

विश्व वातावरण दिवसमा सिटिजन्स बैंकद्वारा २०० फलफूलका बिरुवा रोपण

धनगढी– विश्व वातावरण दिवसको अवसरमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, धनगढी शाखाले दृष्टि फाउन्डेसन नेपालको परिसरमा वृक्षारोपण कार्यक्रम गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा बैंकका कर्मचारीहरूको सक्रिय सहभागितामा दृष्टि फाउन्डेसन परिसरभित्र करिब दुई सय वटा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपिएका हुन् ।

वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा स्वच्छ र दिगो वातावरण निर्माणमा योगदान पु¥याउने उद्देश्यले आयोजित कार्यक्रममा बैंकका कर्मचारीसँगै दृष्टि फाउन्डेसनका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरूले वृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने तथा भविष्यमा दृष्टि फाउन्डेसनको परिसरलाई हराभरा र वातावरणमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सिटिजन्स बैंकले वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । विश्व वातावरण दिवसको अवसरमा सम्पन्न यस वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षण र दिगो विकासप्रति बैंकको प्रतिबद्धतालाई थप उजागर गरेको बैंकले जनाएको छ ।

विश्व वातावरण दिवसका अवसरमा आयोजित यस्ता कार्यक्रमहरूले वातावरणीय सचेतना अभिवृद्धि गर्नुका साथै हरित भविष्य निर्माणमा सामूहिक सहभागिताको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।