काठमाडौं। मुलुककै सबैभन्दा पुरानो र ठूलो दाबी गरिने वीर अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी) मा पुग्ने अशक्त बिरामीहरूले उपचार पाउनुअघि नै चरम सास्ती भोग्नुपरेको छ।
दैनिक हजारौँको संख्यामा बिरामीहरू देशका कुना-काप्चाबाट आशा बोकेर वीर अस्पताल पुग्छन्, तर अस्पतालको मूल गेटमै ओर्लिने बित्तिकै साधारण ह्वीलचियर समेत नपाउँदा बिरामी र तिनका आफन्तले निकै सास्ती व्यहोर्नु परेको छ।
हालै काठमाडौँ चावहिलका महेश कोइराला आफ्ना ८३ वर्षीय वृद्ध बुवालाई लिएर वीर अस्पतालको आकस्मिक कक्षमा आइपुगे। आकस्मिक कक्षको ढोकासम्म बुवा हिँड्न सक्ने अवस्थामा थिएनन्।
महेशले यताउता आँखा डुलाउँदै ह्वीलचियर खोजे, तर कतै फेला पार्न सकेनन्। अस्पतालका कर्मचारी र सुरक्षागार्डसँग हारगुहार गर्दा पनि ह्वीलचियर उपलब्ध हुन सकेन। अन्ततः कुनै विकल्प नभएपछि उनले आफ्ना शिथिल र अशक्त बुवालाई लौरीको सहारामा डोहोर्याउँदै बिस्तारै-बिस्तारै आकस्मिक कक्षसम्म पुर्याउन बाध्य भए।
यो समस्या स्थानीय बासिन्दाको मात्र होइन, दूरदराजबाट ऋणधन गरेर काठमाडौँ आउने सर्वसाधारणको पीडा अझ कहालीलाग्दो छ। बुधबार मात्रै जुम्लाबाट लामो र कष्टकर यात्रा तय गरी उपचारका लागि काठमाडौँ आएका खड्क शाहीका छोराहरू अस्पतालको प्राङ्गणमा ह्वीलचियरका लागि निकै भौतारिए। बिरामी बुवा गाडीबाट ओर्लिएर उभिन समेत नसक्ने अवस्थामा थिए।
छोराहरूले अस्पतालको कुना-कुना चहारेर ह्वीलचियर खोजी गरे तर अस्पताल प्रशासनको चरम लापर्बाहीका कारण एउटै ह्वीलचियर खाली भेटिएन। समयमै इमर्जेन्सीमा लैजानुपर्ने बाध्यता भएपछि उनीहरूले आफ्ना बिरामी बुवालाई पिठ्युँमा बोकेरै आकस्मिक कक्षभित्र छिराए।
यी त वीर अस्पतालमा दैनिक देखिने सयौँ कारुणिक दृश्यमध्येका प्रतिनिधि उदाहरण मात्र हुन्। अस्पताल स्रोतका अनुसार, समय-समयमा विभिन्न संघसंस्थाले वीर अस्पताललाई ह्वीलचियर र ट्रलीहरू दान दिने गरेका छन् र अस्पतालले आफ्नै बजेटबाट पनि ह्वीलचियर खरिद गर्ने गर्छ।
तर, ती सामग्रीहरूको उचित मर्मतसम्भार नहुँदा र जिम्मेवारीपूर्वक व्यवस्थापन नगरिँदा अधिकांश ह्वीलचियरहरू कबाडीमा परिणत भएका छन्। ह्वीलचियरहरू कहाँ छन् र कुन अवस्थामा छन् भन्नेबारे गेटमा बस्ने सुरक्षागार्ड र कर्मचारीहरू जिम्मेवारी लिन चाहँदैनन्।
गुड्ने चक्का खुस्किएका, सिट च्यातिएका र ह्यान्डल भाँचिएका दर्जनौँ ह्वीलचियरहरू अस्पतालका कुनाकाप्चामा थन्किएका छन्, तर तिनलाई सामान्य मर्मत गरेर सञ्चालनमा ल्याउन अस्पताल प्रशासनले चासो देखाएको छैन।
कतिपय अवस्थामा केही ह्वीलचियर र ट्रलीहरू अस्पतालभित्रैका विभिन्न वार्डहरूले आफ्नै लागि मात्रै ‘रिजर्भ’ गरेर लुकाउने हुनाले आकस्मिक कक्षमा आउने नयाँ बिरामीले तत्काल पाउन सक्दैनन्।
भिआइपी र पहुँचवालाहरू आउँदा तत्कालै गाडीको ढोकामै ट्रली र ह्वीलचियर आइपुग्ने वीर अस्पतालमा, दुर्गमबाट आएका सर्वसाधारणले भने आफ्ना बिरामी आफन्तलाई बोकेरै लैजानुपर्ने बाध्यता हट्न सकेको छैन।
स्वास्थ्य मन्त्रालय र अस्पताल प्रशासनले ट्रमा सेन्टर र नयाँ सर्जिकल ब्लक थपेर भौतिक पूर्वाधार ठूलो बनाएको दाबी गरे पनि बिरामीको प्राथमिक आवश्यकता-एउटा ह्वीलचियर समेत उपलब्ध गराउन नसक्नुले सार्वजनिक स्वास्थ्य सेवाको लज्जास्पद तस्बिर छताछुल्ल पारेको छ।