काठमाडौं । रास्वपाको केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भाग लिएकी नेतृ ज्वाला संग्रौला आफूमाथि षडयन्त्र रचिएको भन्दै आक्रोशित बनेकी छन् । मतपत्रमा आफ्नो परिचित नाम ‘ज्वाला’ नै गायब गरिएपछि उनी आक्रोशित बनेकी हुन्
ज्वालाको वास्तविक नाम टिका संग्रौला हो । तर, उनी पार्टीभित्र र बाहिर ज्वाला नामले नै बढी परिचित छिन् । यो उनको उपनाम हो । उनले उम्मेदवारीको फारम भर्दा टिका संग्रौला (ज्वाला) लेखेकी थिइन् । तर, मतपत्रमा भने ज्वाला हटाएर टिका संग्रौला मात्रै राखिएपछि आफूमाथि षडयन्त्र भएको उनले बताएकी हुन् ।
उनले भनिन्, ‘मलाई सबैले ज्वाला भनेर चिन्नुहुन्छ । यो नाम मतपत्रमा नदेख्दा प्रतिनिधिहरुले मलाई भोटै नहालि आउनुभएछ । उहाँहरुले मलाई आएर भन्नभयो । पछि म आफैं भोट हाल्न जाँदा टिका संग्रौला मात्रै लेखिएको रहेछ । यो नामले मलाई धेरैले चिन्नुहुन्न । ममाथि सरासर षडयन्त्र भयो ।’
ज्वालाले यो विषयमा पार्टीको निर्वाचन आयोगमा मौखिक गुनासो राखेकी थिइन् । तर, आयोगका व्यक्तिहरुले मतपत्रमा ‘उपनाम’ प्रयोग गर्न नमिल्ने जवाफ दिए । यद्यपि, अरु थुप्रै उम्मेदवारहरुको उपनाम मतपत्रमा प्रयोग भएको छ । रञ्जु न्यौपानेको नाम रञ्जु दर्शना, डिल्लीस्वर कार्कीको नाम रोहन कार्की लेखिएको छ, जुन नामबाट उनीहरु परिचित छन् ।
आफ्नो नाममै छेडखानी गरिएपछि ज्वालो रास्वपाको निर्वाचन आयोगमा उजुरी दिने तयारी गरेकी छन् । नेतृत्वसमक्ष कुरा राख्दा निर्वाचन परिणामपछि कुरा गरौंला भन्ने जवाफ आए पनि उनी सन्तुष्ट छैनन् । आफूलाई चुनावको हारजित भन्दा पनि पार्टीभित्रै भएको षडयन्त्रले चित्त दुखेको उनी बताउँछिन् ।