बिहिबार, असार ११, २०८३

जेनजी आन्दोलनका बेला कारागारबाट फरार दुई कैदी धनगढीबाट पक्राउ

धनगढी : जेनजी आन्दोलनका क्रममा कैलाली कारागारबाट फरार भएका दुई जना कैदीबन्दीलाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी सहायक निरीक्षक (असई) अमराज बुढाको कमाण्डमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका–१ को बजार क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दाका प्रतिवादी जानकी गाउँपालिका–९ का २४ वर्षीय सुमित साउद र लागूऔषध मुद्दाका भजनी नगरपालिका–५ निवासी २३ वर्षीय सुशिल साउद रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार पक्राउ परेका सुमित कैलालीको चर्चित अर्जुन दास हत्या प्रकरणका अभियुक्त हुन्।

उनीहरू गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कैलाली कारागारबाट फरार भएका थिए। लामो समयदेखि खोजीमा रहेका दुवै जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि पुनः कारागार कार्यालयमा बुझाएको जनाएको छ।