धनगढी – धनगढीका पुष्प व्यवसायीहरूले प्लास्टिकजन्य फूल तथा अन्य कृत्रिम पुष्पहरू खुला रूपमा बिक्री–वितरण भइरहेको भन्दै कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त प्रसाद तिमिल्सिनासँग अन्तरक्रिया तथा ध्यानाकर्षण गराएका छन्।
च्याम्बर अफ कमर्स सुदूरपश्चिमका अध्यक्ष विनोद मल्लको नेतृत्वमा धनगढी पुष्प व्यवसाय कृषक समूहका सचिव तथा पुष्प व्यवसाय संघ कैलालीका तदर्थ समिति अध्यक्ष शंकर सिंह बिष्टसहितका पुष्प व्यवसायीहरूले भन्सार प्रमुख तिमिल्सिनासँग भेट गरी नेपालमा प्रतिबन्धित प्लास्टिकजन्य फूलहरू अवैध रूपमा भित्रिएर बजारमा बिक्री भइरहेको विषय उठाएका हुन्।
अन्तरक्रियामा अध्यक्ष मल्लले नेपाल सरकारको वन ऐन, २०७६ अनुसार प्लास्टिकजन्य फूलको बिक्री–वितरणमा प्रतिबन्ध भए पनि पछिल्लो केही महिनादेखि कैलाली–कञ्चनपुर क्षेत्रमा यस्ता सामग्री खुलेआम बिक्री भइरहेको बताए। नियमन तथा नियन्त्रण गर्ने निकायहरूको कमजोरीका कारण प्रतिबन्धित सामग्री बजारमा सहजै उपलब्ध भइरहेको उनको भनाइ थियो।
“एक निकायले अर्को निकायतर्फ जिम्मेवारी पन्छाएर समस्याको समाधान हुँदैन,” उनले भने, “सरकारले प्रतिबन्ध लगाएका सामग्रीको प्रभावकारी नियन्त्रण हुनुपर्छ। यसले स्वदेशी पुष्प व्यवसाय र किसानलाई प्रत्यक्ष रूपमा असर पुर्याएको छ।”
धनगढी पुष्प व्यवसाय कृषक समूहका सचिव तथा पुष्प व्यवसाय संघ कैलालीका तदर्थ समिति अध्यक्ष शंकर सिंह बिष्टले पनि प्रतिबन्धित प्लास्टिकजन्य फूलहरू सीमावर्ती नाकाबाट चोरी निकासी तथा अवैध रूपमा भित्रिने गरेको दाबी गरे। उनले विभिन्न कार्यक्रम तथा इभेन्टहरूमा समेत प्लास्टिकका फूलको प्रयोग बढ्दै गएको भन्दै यसको नियन्त्रण आवश्यक रहेको बताए।
पुष्प व्यवसायीहरूले लाखौं रुपैयाँ लगानी गरेर व्यवसाय सञ्चालन गरिरहेका किसानहरू राज्यकै कानुन उल्लंघन हुँदा पनि प्रभावित भइरहेको गुनासो गरे। उनीहरूले बजारमा प्लास्टिकका फूलको बिक्री रोक्न सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्।
यता कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त प्रसाद तिमिल्सिनाले भन्सार कार्यालयले आफ्नो क्षेत्रबाट आवश्यक निगरानी र कारबाही गर्दै आएको बताउँदै आगामी दिनमा थप कडाइ गरिने प्रतिबद्धता जनाए।
“हामीले आफ्नो तर्फबाट काम गरिरहेका छौं र अझै कडाइका साथ काम गर्नेछौं,” उनले भने, “अवैध रूपमा सामग्री भित्रिएको सूचना प्राप्त भएमा तत्काल कारबाही गर्छौं। बिहान सबेरै हुने गतिविधि नियन्त्रणका लागि सुरक्षा निकायसँग समन्वय गरेर थप निगरानी बढाइनेछ।”
पुष्प व्यवसायीहरूले प्रतिबन्धित प्लास्टिकजन्य फूलको आयात, बिक्री तथा प्रयोग नियन्त्रण गर्न सम्बन्धित निकायहरूले संयुक्त रूपमा प्रभावकारी अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।