बिहिबार, असार ११, २०८३

डीएसपी योगेन्द्र तिमिल्सिनाको कमाण्डमा धनगढीका होटल तथा लजमा विशेष अपरेशन, २४ जना नियन्त्रणमा

डीएसपी योगेन्द्र तिमिल्सिनाको कमाण्डमा धनगढीका होटल तथा लजमा विशेष अपरेशन, २४ जना नियन्त्रणमा
धनगढी, असार १० — जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाको कमाण्डमा धनगढी उपमहानगरपालिका क्षेत्रका विभिन्न होटल तथा लजमा विशेष चेकजाँच अभियान सञ्चालन गरिएको छ।
बुधबार दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म १७ सदस्यीय प्रहरी टोलीले सञ्चालन गरेको उक्त अभियानका क्रममा ११ जना महिला र १३ जना पुरुष गरी २४ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको छ। उनीहरूमाथि हाल अनुसन्धान तथा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोधपुछबाट प्राप्त तथ्य र अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइनेछ। अभियान धनगढी उपमहानगरपालिका क्षेत्रका विभिन्न होटल तथा लजलाई लक्षित गरी सञ्चालन गरिएको थियो।