सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पदाधिकारीको निर्वाचन नहुने देखिएको छ । सहमतिमा पदाधिकारी चयन गरी सभापति रवि लामिछानेले नाम पढ्ने तयारी गरिरहेको महाधिवेशनमा सहभागी एक नेताले बताए ।
गत असार ७ गतेदेखि चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशन अव्यवस्थित र भद्रगोल बनेको छ । महाधिवेशन लम्बिएपछि एक हजार तीन सय ५२ जना प्रतिनिधि भोट नै नहाली घर फर्किएका छन् ।
९९ जना केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा चार हजार ३११ प्रतिनिधिमध्ये २९ सय ५९ मतमात्र खसेको छ । अर्कोतर्फ, केन्द्रीय सदस्यको उम्मेदवारी दिएका कतिपय नेताहरुले निर्वाचनमा षड्यन्त्र भएको आरोप लगाएका छन ।
यसले पदाधिकारी निर्वाचन झनै विवादित र लम्बिने भएपछि चुनावै नगराउने सम्भावना बढेको ती नेता बताउँछन् । ‘पदाधिकारी चुनाव होलाजस्तो देखिन्न । प्रतिनिधिहरु सबै हिँडे, सबैलाई दुःख भयो किन चुनाव गराउनु भनेर सभापतिज्यूले नाम पढ्ने तयारी गरिरहनुभएको छ,’ उनले भने ।