चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएका नेता मनिष झाले आफूले सबैभन्दा पहिले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको र आफ्नो उम्मेदवारी कायमै रहेको बताएका छन्।
कसैको फोन आएकै भरमा आफूले उम्मेदवारी फिर्ता नलिने पनि उनले बताए। रास्वपा महाधिवेशनमा सुरूमा महामन्त्री पदमा १० जनाले उम्मेदवारी दिए पनि ६ जनाले फिर्ता लिइसकेका छन्।
कबिन्द्र बुर्लाकोटी, राजु पाण्डे, गणेश पराजुली, जगदीश खरेल, रञ्जु दर्शना र प्रमोद न्यौपानेले महामन्त्रीमा उम्मेदवारी दिए पनि फिर्ता लिएका थिए।
आज दिउँसो महाधिवेशनस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता मनिष झाले आफ्नो उम्मेदवारी अन्तिमसम्म कायमै रहने बताए। उम्मेदवारी फिर्ता लिएकाहरूप्रति लक्ष्य गर्दै उनले ‘यस्तो आलोकाँचो राजनीति’ नगर्न पनि आग्रह गरेका छन्।
‘यो महाधिवेशनमा सबैभन्दा पहिले उम्मेदवारी घोषणा गरेको मैले हो, महामन्त्रीमा उठ्छु भनेर। त्यसमा मेरो उम्मेदवारी यथावत् छ,’ उनले भने, ‘यस्तो आलोकाँचो राजनीति पनि गर्न भएन, हिजो बेलुकी उम्मेदवारी दिने अहिले फिर्ता लिने।’
परिणाम जेसुकै भए पनि सशक्त रूपमा भिडिराख्ने पनि उनले बताए। ‘फलानोको फोन आएपछि सोचौंला र सोधौंला भन्ने राजनीति हुँदैन,’ उनले भने, ‘म सशक्त रूपमा लागेको छु र अघि बढेको छु। महामन्त्रीमा मनिष झा, धन्यवाद।’रास्वपा महामन्त्री पदमा मनिष झा, विपिनकुमार आचार्य, सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा हुने देखिएको छ।