शुक्रबार, असार १२, २०८३

विश्वास लाग्छ? भारतको ठूला सुन कम्पनीका प्रमुखको तलब २७ हजार मात्रै!

बेंगलुरु । भारतका प्रमुख सुन निर्यातकर्तामध्ये एक कम्पनी राजेश एक्सपोट्र्समा व्यापक स्तरमा लेखा तथा वित्तीय अनियमितता भएको आरोप भारतीय अनुसन्धान निकायहरूले लगाएका छन् ।

अनुसन्धान अनुसार कम्पनीले गत वर्ष करिब ८१ अर्ब अमेरिकी डलर बराबरको आम्दानी देखाएको भए पनि त्यसमा गम्भीर विसंगति र असामान्य वित्तीय संरचना भेटिएको छ । अनुसन्धानकर्ताहरूका अनुसार कम्पनीका व्यापारिक सूचकहरू सामान्य व्यावसायिक अभ्यासभन्दा धेरै फरक देखिएका छन् ।जाँचमा कम्पनीका प्रबन्ध निर्देशकलाई मासिक करिब १७ हजार भारतीय रुपयाँ (२७ हजार २०० नेपाली रुपैयाँ) मात्र तलब दिइएको खुलेको छ । त्यस्तै, कम्पनीका प्रमुख वित्तीय अधिकृतले सन २०२० यता कुनै तलब नपाएको पनि अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । भारतीय अधिकारीहरूले कम्पनीको विदेशी कारोबारसम्बन्धी अभिलेखहरू अपूर्ण रहेको, करिब ३० अर्ब भारतीय रुपैयाँ बराबरको लेखा विसंगति भेटिएको, करिब ४० प्रतिशतसम्म सुनको भौतिक भण्डार कम देखाइएको निष्कर्ष निकालेका छन् । साथै बजारमा सेयर मूल्य कृत्रिम रूपमा प्रभावित पारिएको आशंका पनि गरिएको छ ।यसअघि भारतको बजार नियामक संस्था सेबीले पनि राजेश एक्सपोट्र्सको आम्दानीमा गम्भीर शंका व्यक्त गर्दै ९७ देखि ९९ प्रतिशतसम्म आम्दानी बढाइचढाइ गरिएको हुन सक्ने जनाएको थियो । सेबीले उक्त अवस्थालाई अत्यन्त गम्भीर र असाधारण भन्दै कम्पनीसँग स्पष्टीकरण मागेको थियो । कम्पनीले भने सबै आरोप अस्वीकार गर्दै आफ्नो वित्तीय विवरणहरू पूर्ण रूपमा सही र वैध भएको दाबी गरेको छ ।अनुसन्धान प्रतिवेदन सार्वजनिक भएपछि कम्पनीको सेयर मूल्य करिब ५ प्रतिशतले घट्दै बजारमा ठूलो असर देखिएको छ । भारतको बेंगलुरुस्थित मुख्यालय र मुम्बई कार्यालयमा गरिएको छापा तथा अनुसन्धानपछि यो विषय थप गम्भीर बनेको अधिकारीहरूले जनाएका छन् । राजेश एक्सपोट्र्स स्विट्जरल्याण्डस्थित प्रमुख सुन प्रशोधन कम्पनी भाल्काम्बीको पनि मालिक हो, जसले विश्व बजारमा सुन प्रशोधन तथा निर्यातको ठूलो हिस्सा ओगट्ने गर्छ ।