शुक्रबार, असार १२, २०८३

लम्की अस्पताल विवाद : चिकित्सक संघको आपत्ति, छानबिन र कारबाहीको माग

धनगढी । नेपाल चिकित्सक संघले लम्कीचुहा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कमलेशप्रसाद यादवमाथि भएको दुर्व्यवहार, धम्की तथा उपचार सेवामा अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघले शुक्रबार विज्ञप्ति जारी गर्दै लम्की नगरपालिकाका मेयर सुशीला शाहीबाट सिंगो स्वास्थ्य क्षेत्रको अपमान हुने काम भएको जनाएको छ।

यस्तै, चिकित्सक संघ सुदूरपश्चिम प्रदेश (धनगढी शाखा)ले पनि घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

बिरामीलाई सुरक्षित, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार, धम्की, कुटपिट, मानसिक दबाब र उपचार सेवामा अवरोध सिर्जना गर्ने गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेको छ।

यस्ता घटनाले स्वास्थ्यकर्मीको मनोबल कमजोर पार्नुका साथै समग्र स्वास्थ्य सेवा प्रणालीमै नकारात्मक असर पर्ने संघको भनाइ छ।

शाखाका अध्यक्ष डा। खगेन्द्रराज भट्ट र सचिव डा। मेराज आलम अन्सारीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत संघले सम्बन्धित निकाय र सरोकारवालासँग उक्त घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषी जो–कोही भए पनि प्रचलित कानुनअनुसार आवश्यक कारबाही गर्न माग गरेको छ।