धनगढी, १२ असार / धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा तीन दिनदेखि बेपत्ता रहेका १० वर्षीय बालक मृत अवस्थामा फेला परेका छन्। मृतक स्थानीय चनोज चौधरी रहेको प्रहरीले जनाएको छ। कैलाली प्रहरीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार बालकको शव शुक्रबार फेला परेको हो। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको उनले बताए।
घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको र मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइने तयारी भइरहेको छ। यता, मृतकका परिवारले भने बालकको हत्या गरिएको आरोप लगाएका छन्। मृतकका काका दयाराम चौधरीले भतिजाको हत्या भएको दाबी गर्दै घटनाको निष्पक्ष र गहन अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरेका छन्।
प्रहरीले भने घटनाबारे अनुसन्धान जारी रहेकाले पोस्टमार्टम प्रतिवेदन र अनुसन्धानको निष्कर्षपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने जनाएको छ।