शुक्रबार, असार १२, २०८३

१९ असारमा सुदूरपश्चिम स्पोर्ट्स अवार्ड, मुख्य प्रवर्द्धक प्रदेश खेलकुद परिषद्

धनगढी । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ आगामी १९ असारमा हुने भएको छ । ‘एनएसजेएफ सुदूरपश्चिम स्पोर्ट्स अवार्ड उत्कृष्ट खेलाडी सम्मान प्रतियोगिता’का रुपमा अवार्डको सातौं संस्करण हुने भएको हो । आयोजक मञ्चका अध्यक्ष प्रदीप पाठकका अनुसार अवार्ड कार्यक्रममा २०८२–८३ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी र प्रशिक्षकलाई आठ विधामा सम्मान गरिने छ ।अवार्डअन्तर्गत उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन पुरुष र सुदूरपश्चिम आइकन महिला विधामा पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट पुरुष र महिला खेलाडीले जनही ३५ हजार रुपैयाँ, उत्कृष्ट प्रशिक्षकले ३० हजार रुपैयाँ, तथा वर्ष युवा खेलाडी, स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेताले जनही २५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सुदूरपश्चिम आइकन पुरुष र महिला विधाका विजेतालाई जनही २० हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिनेछ ।मञ्चका महासचिव हरि जोशीले अवार्डको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै विभिन्न समिति तथा उपसमिति गठन गरेर कार्यक्रमलाई भव्य बनाउन काम भइरहेको बताए । मञ्चका अनुसार सुदूरपश्चिम स्पोर्ट्स अवार्डले खेलकुदमार्फत राष्ट्रको प्रतिष्ठा बढाउने खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीलाई सम्मान गर्दै उनीहरूलाई थप प्रेरित गर्ने उद्देश्य राखेको छ ।यसैबीच, विगतका संस्करण जस्तै यसवर्ष पनि अवार्ड कार्यक्रमको मुख्य प्रवर्द्धकका रूपमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् जोडिएको छ । मुख्य प्रवर्द्धक सम्बन्धी सम्झौतापत्रमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्का र मञ्चका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरेका छन् ।