नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि नेकपा एमाले र अन्य लोकतान्त्रिक दलहरूसँग कार्यगत एकता गर्ने बताएका छन्।
शुक्रबार विराटनगरमा नेकपाको कोशी प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि बाँकी रहेका कम्युनिस्ट पार्टीहरूसँग एकता गर्दै एमालेसँग कार्यगत एकता र मधेशवादीलगायतका लोकतान्त्रिक दलहरूसँग मोर्चा गर्ने बताएका हुन्।
‘बाँकी कम्युनिस्ट पार्टीहरूसँग तुरुन्तै एकता गर्छौँ र एमालेसँग तत्कालै एकता नभए पनि सडक र सदनमा सहकार्य बलियो बनाउन कार्यगत एकता गर्छौँ,’ प्रचण्डले भने। वामपन्थी शक्तिहरू मिल्दा अहिले पनि वैकल्पिक शक्ति बन्ने अवस्था रहेको र त्यसो भए मात्र प्रतिक्रान्तिलाई परास्त गर्न सकिने उनको तर्क छ।
प्रचण्डले संघीय लोकतन्त्रको रक्षाका लागि एमालेसँग कार्यगत एकतासँगै अन्य पार्टीहरूसँग पनि बृहत् एकताका लागि छलफल भइरहेको बताए। उनले बैठकमा भने, ‘लोकतन्त्रको रक्षाका लागि वामपन्थीहरू मात्रै नभएर लोकतान्त्रिक पार्टीसँग हामी मोर्चागत एकता गर्नेछौँ ।’ संयोजक प्रचण्डले मोर्चाका लागि मधेशवादी दलहरूसँग पनि छलफल अगाडि बढिसकेको जानकारी गराए।
प्रचण्डले कम्युनिस्ट एकतालाई बलियो बनाउन अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्धहरू पनि विस्तार गर्न थालेको बताए। उनले भने, ‘माधव कमरेड रसिया पुगेर आउनुभयो, अब पनि श्रीलंका जाँदै छौँ। अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाएर मात्र सुपरपावरहरूसँग लड्न सकिन्छ।’
संयोजक प्रचण्डले आगामी महाधिवेशनबाट गल्तीहरूलाई सच्याएर युवापुस्तालाई नेतृत्वमा ल्याउन लागेको बताउँदै तल्ला कमिटीदेखि नै सोहीअनुसार तयारी थाल्न निर्देशन पनि दिए। उनले शुक्रबारको बैठकमा नेपाली कम्युनिस्ट पार्टीको १४ सय सदस्यीय कोशी प्रदेश कमिटीका सदस्यहरूलाई शपथ पनि गराए।