आइतवार, असार १४, २०८३

धनगढी र टीकापुरमा लागूऔषधसहित ६ जना समातिए

धनगढीः कैलालीको धनगढी र टीकापुरबाट प्रहरीले लागूऔषधसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।

धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम २७० मिलिग्रामसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने २१ वर्षीय किरन भट्टलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी भट्टलाई पक्राउ गरेको जनाएको छ।

यसैगरी, टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम २७० मिलिग्रामसहित बर्दियाको राजापुर नगरपालिका–६ बस्ने २३ वर्षीय प्रमेश थारुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले उक्त पदार्थ फेलासहित पक्राउ गरेको हो।

 यसैगरी, टीकापुर नगरपालिका–९ खैरीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन २९० मिलिग्रामसहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका–३ बस्ने २१ वर्षीय राहुल तिरुवा र १९ वर्षीय सुरेश खनाल रहेका छन्। प्रहरी चौकी सत्ति, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ।

यस्तै टीकापुर नगरपालिका–८ खक्रौलाबाट खैरो हेरोइन १ ग्राम ९३० मिलिग्रामसहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ ब्लक नम्बर २३ बस्ने २३ वर्षीय प्रशान्त थापा र जानकी गाउँपालिका–३ लाएकपुर बस्ने २४ वर्षीय अर्जुन ऐडी रहेका छन्। प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको जनाएको छ।