आइतवार, असार १४, २०८३

गाडीबाट टाउको निकाल्ने, स्कूले विद्यार्थीलाई आगलागीमा उक्साउनेमाथि कडा कारबाही

रास्वपाकी समानुपातिक सांसद श्रृष्टि भट्टराईको झण्डै एक वर्षअघि सामाजिक सञ्जालमा हालिएको स्टाटस भाइरल बनेको छ । चुनावअघि गुडिरहेको कारबाट टाउको निकालेर नाचगान गरेको टिकटक हालै सार्वजनिक भएको थियो । केही समयअघि आफू निकै सुन्दरी भएकाले संसद र सांसदबीच सो टिकटक उछालिएको भनी स्पस्टिकरण दिएकी थिइन् ।

अहिले उनैले गत वर्ष भदौ २३ गतेको जेन जी प्रदर्शनमा ११ बजे नगरपालिका अगाडि जम्मा हुन आह्वान गर्दै लेखेको वाक्य पुनः भाइरल बनेको छ । उनले उक्त प्रदर्शनका क्रममा विद्यार्थीहरुलाई स्कूल तथा कलेज पोशाक लगाएर सहभागी हुन र आफू सुरक्षित हुँदै बाँकी काम फत्ये गर्न सुझाव दिएकी थिइन् । उक्त स्क्रिनसट सार्वजनिक भएपछि उनीमाथि कानुन निर्माण गर्ने जिम्मेवारीमा पुगेको व्यक्तिको नियतउपर प्रश्न उठाइएको छ । उनले लेखेकी थिइन्, ‘स्कुल युनिफर्म र कलेज युनिफर्ममा  गयो भने प्रहरी प्रशासन अलि डराउने हुन्छ किनभने युनिफर्ममा कसैलाई पिट्न,लछार्न पाउँदैन । यो अन्तर्राष्ट्रिय कानुनमा पर्छ ।’

भट्टराईले अगाडि लेखेकी छन्,‘त्यही भएर पछाडि स्कुलब्याग अनि वाटर बोटल पनि हाल्नु र साइडमा छाता फोल्ड गरेर हाल्नु । स्कुल, कलेज ड्रेस लगाएर जानु ।’

प्रदर्शनमा सुरक्षा अपनाउन, हेल्मेट लगाउन,शरीरलाई सुरक्षा हुने अन्य उपकरण प्रयोग गर्न सल्लाह दिँदै स्टाटस लेखेकी थिइन् । अर्कोतर्फ सोही पार्टीको भरतपुरमा आयोजित प्रथम महाधिवेशनमा १८ वर्षभन्दा मुनिका हजारौं विद्यार्थीलाई रास्वपा सदस्य बनाइएको तथ्याङ्क बाहिरिएको छ ।