काठमाडौँः मुलुकका ११ जिल्लामा बर्डफ्लु संक्रमण फैलिएको छ। पशु सेवा विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पछिल्ला तीन महिनामा देशका विभिन्न स्थानमा देखिएको यो घातक संक्रामक रोग हालसम्म ११ जिल्लाका ८२ फरक–फरक स्थानमा पुष्टि भइसकेको छ।विभागका अनुसार ४ चैत २०८२ मा मोरङबाट सुरु भएको संक्रमण हाल झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म फैलिसकेको छ। यी जिल्लाका कुल ८२ स्थानमा प्रयोगशाला परीक्षणबाट बर्डफ्लु पुष्टि भएको हो।
संक्रमण नियन्त्रणका लागि विभागले उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ स्थापना गरी प्रभावित क्षेत्रमा आवश्यक जनशक्ति परिचालन गरेको जनाएको छ। विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार रोग नियन्त्रणका क्रममा ठूलो संख्यामा पन्छी र पन्छीजन्य सामग्री नष्ट गरिएको छ। हालसम्म संक्रमित क्षेत्रका ५ लाख ६९ हजार ८ सय ५८ पन्छी मारिएका छन्।
यसैगरी ९ लाख ८९ हजार ३ सय १३ वटा अन्डा र १ लाख ९५ हजार ४ सय ८५ किलो दाना सुरक्षित रूपमा नष्ट गरिएको विभागले जनाएको छ। यो कार्य सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा द्रुत कार्यदल परिचालन गरी सम्पन्न गरिएको हो।विभागका अनुसार कोशी प्रदेशमा संक्रमण केही हदसम्म नियन्त्रणमा आएको छ। सुरुवाती चरणमा पन्छी ओसारपसारमा लगाइएको रोक हाल खुकुलो बनाइएको छ। तर काठमाडौं उपत्यकाभित्र भने संक्रमण देखिने क्रम बढिरहेकाले काठमाडौं, भक्तपुर र ललितपुरमा जोखिम उच्च रहेको विभागको भनाइ छ।
संक्रमण नियन्त्रणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला तथा अन्य राष्ट्रिय प्रयोगशालामार्फत शीघ्र निदान भइरहेको छ। रोग पुष्टि हुनासाथ ‘आकस्मिक रोग अन्वेषण टोली’ खटाएर जोखिम मूल्यांकन गरिँदै आएको विभागले जनाएको छ। साथै भाइरसको प्रकृतिमा परिवर्तन भए–नभएको यकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको समन्वयमा भाइरसको ‘सिक्वेन्सिङ’ गर्ने कार्यसमेत अघि बढाइएको छ।
पशु सेवा विभागले पन्छीपालक कृषकलाई उच्च सतर्कता अपनाउन, फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न र पन्छीमा असामान्य लक्षण देखिए वा एक्कासि मर्न थाले तुरुन्त नजिकको पशु सेवा केन्द्रमा जानकारी गराउन अपिल गरेको छ। साथै पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी स्वास्थ्य प्रमाणपत्र लिएरमात्र ढुवानी गर्न अनुरोध गरिएको छ।
बर्डफ्लुसँगै न्यून प्याथोजेनिक एभियन इन्फ्लुएन्जा, रानीखेत र ई–कोलाइ जस्ता रोगका कारण पनि पन्छीमा उच्च मृत्युदर देखिएको प्रयोगशाला परीक्षणले पुष्टि गरेको विभागले जनाएको छ। यस्ता बहुविधि संक्रमणबाट बच्न किसानलाई नियमित खोप कार्यक्रम अपनाउन र संक्रमित पन्छीलाई सुरक्षित रूपमा नष्ट गर्न विभागले आग्रह गरेको छ।