धनगढी, असार १५ – लायन्स क्लब अफ धनगढी सन्जीवनीको अध्यक्षमा गौरी शंकर डेन्टलका सञ्चालक लायन रतन कुमार एस.के. निर्वाचित भएका छन्। क्लबको नयाँ नेतृत्व चयनसँगै आइतबार आयोजित एक कार्यक्रमबीच उनलाई पद तथा गोपनीयताको शपथ गराउँदै पदभार ग्रहण गराइएको हो।
क्लबका निवर्तमान अध्यक्ष युवा व्यवसायी लक्ष्मी राज ओझाबाट अध्यक्षको जिम्मेवारी ग्रहण गरेका रतन कुमार एस.के.ले आगामी कार्यकालमा क्लबलाई अझ प्रभावकारी सामाजिक सेवामूलक संस्थाका रूपमा स्थापित गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा मानवीय सेवाका क्षेत्रमा थप सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
विगत सात वर्षदेखि धनगढी तथा आसपासका क्षेत्रमा विभिन्न सामाजिक, मानवीय तथा परोपकारी कार्य गर्दै आएको लायन्स क्लब अफ धनगढी सन्जीवनीले समुदायको विकास र सेवामूलक गतिविधिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। क्लबले रक्तदान, स्वास्थ्य शिविर, शैक्षिक सामग्री वितरण, विपन्न तथा असहाय नागरिकलाई सहयोग लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गौरी जोशी, उपाध्यक्षमा हिमाल ओझा, सचिवमा भेग बहादुर रोका तथा कोषाध्यक्षमा खेमराज भट्टराई निर्वाचित भएका छन्। नव निर्वाचित पदाधिकारीहरूले क्लबको उद्देश्य अनुरूप सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ योजनासहित अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
यसैबीच, क्लबका निवर्तमान अध्यक्ष लक्ष्मी राज ओझा लायन्स वर्ष २०२६/२७ का लागि डिस्ट्रिक्ट चेयरपर्सन पदमा निर्विरोध निर्वाचित भएका छन्। उनको निर्विरोध चयनलाई क्लबका सदस्यहरूले गौरवको विषयका रूपमा लिँदै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नयाँ नेतृत्वले क्लबको सामाजिक सेवामूलक अभियानलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेका थिए।