कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–९ क्षेत्रमा निर्माणाधीन महाकाली कोरिडोर सडक आयोजनामा चरम ढिलासुस्ती गरिएको भन्दै यहाँका बासिन्दाले प्रदर्शन गरेका छन् । खल्लामसेट्टी कोरिडोर खण्डमा जोखिममुक्त यात्रा गर्ने वातावरण बनाउने मागसहित स्थानीयले प्रदर्शन गरेका हुन् । आइतबार साँझ हातमा प्लेकार्ड बोकेर स्थानीयले प्रदर्शन गरेका थिए । सडक निर्माण सुस्त हुँदा विद्यार्थीको पठनपाठन प्रभावित हुनुका साथै बिरामीलाई अस्पताल लैजानसमेत कठिनाइ भइरहेको उनीहरूको गुनासो छ । वैकल्पिक मार्ग नहुँदा आफूहरूको जीवन थप कष्टकर बनेको भन्दै उनीहरूले यथाशक्य छिटो सडक निर्माण हुनुपर्ने माग राखेका छन् ।
कोरिडोर क्षेत्रमा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रसिंह महताले निरीक्षण गरे पनि कोरिडोर निर्माणमा सरकारले लापर्बाही गरेको उनीहरूको आरोप छ । स्थानीय युवा दीपेन्द्रसिंह ऐरीले सडक तत्काल सञ्चालनमा ल्याइनुपर्ने माग गरे।
महाकाली कोरिडोर निर्माणको काम समयमै अगाडि नबढाउने ठेकेदारमाथि कारबाही गरिने प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रसिंह महताले बताए। आगामी आर्थिक वर्षमा सो सडकखण्ड निर्माणका लागि ३९ करोड रुपियाँ विनियोजन गरिएको बताउँदै उहाँले समयमै निर्माण कार्य नगर्ने ठेकेदारलाई कारबाही गरिने बताए। त्यसै गरी बेलौरी नगरपालिका–२ स्थित छत्री चौराहादेखि श्रीलङ्का टप्पुसम्म जोड्ने ३.३ किलोमिटर सडक कालोपत्रेको काममा ढिलाइ भएको भन्दै स्थानीयले निर्माण कम्पनीका उपकरण नियन्त्रणमा लिएका छन् । सोमबार बिहान वडा नम्बर २ टेडुवाका स्थानीयले सडक निर्माण अधुरै छोडेको भन्दै मालिका निर्माण सेवाको रोलर र पानी ट्याङ्की नियन्त्रणमा लिएर प्रहरी चौकी टेडुवामा राखेका छन् ।
स्थानीय दीपेन्द्रप्रसाद खुनाले तीन वर्षअघि सकिसक्नुपर्ने काम अहिलेसम्म सम्पन्न नभएपछि निर्माण कम्पनीको सामान नियन्त्रणमा लिएर सुरक्षित प्रहरी चौकीमा बुझाएको बताए। विसं २०८० मा नै निर्माण सम्पन्न गर्नुपर्ने सडक पटक पटक म्याद थप हुँदा पनि निर्माण नगरिँदा स्थानीय आक्रोशित बनेर निर्माण सामग्री नियन्त्रणमा लिएको बेलौरी नगरपालिका–२ का वडा सदस्य विक्रम चौधरीले बताए।
सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमार्फत निर्माण भइरहेको सो सडक विसं २०७९ जेठ २५ गते एक वर्षमा पूरा गरिसक्ने गरेर तीन करोड २६ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । हालसम्म ७० प्रतिशत काम सकिएको निर्माण कम्पनीको दाबी छ । इलाका प्रहरी कार्यालय बेलौरीले भने ती सामग्री सुरक्षित राखिएकाले निर्माण कार्य अगाडि बढाउनेबित्तिक्कै कम्पनीलाई बुझाइने सहमति भएको जनाएको छ ।