कपिलवस्तु कारागारको बी ब्लकमा नाइके समूहले आफूमाथि ज्यादती गरेको भन्दै आन्दोलनरत कैदीबन्दीहरूले २४ घण्टापछि आन्दोलन रोकेका छन्। ब्लक २ को गेटमा ताला लगाएर सोमबार दिउँसो २ बजेदेखि कैदीहरूले कारागारको ब्लक २ नै नियन्त्रणमा लिएर आन्दोलनमा उत्रिएका उनीहरूले मागका विषयमा जिल्ला सुरक्षा समितिले छानबिन समिति बनाएर घटनाका दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि मंगलबार करिब २ बजेतिर आन्दोलन रोकेका हुन्।
घटनाका विषयमा सहायक प्रजिअ भेषराज घिमिरेको नेतृत्वमा प्रजिअ जनार्दन गौतमले ३ सदस्यीय छानबिन समिति निर्माण गरेका थिए। सो लगत्तै दिउँसो प्रजिअ गौतम, सहायक प्रजिअ घिमिरे र पत्रकार महासंघका जिल्ला अध्यक्ष दिलाराम भुसाल कारागार पुगेर आन्दोलनरत कैदीबन्दीसँग दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए। सो प्रतिबद्धतापछि कैदीबन्दीहरूले ब्लक २ को ढोका खोलेका थिए।
जेलर मानबहादुर शाहीले कैदीबन्दीका मागका विषयमा प्रजिअसहितको टोलीले पूरा गर्ने प्रतिबद्धता जनाएपछि कारागार पुनः सामान्य अवस्थामा फर्किएको बताए। यसअघि आन्दोलनरत कैदीबन्दीले थुनेर राखेका ४ नाइकेका कैदीबन्दीलाई सोमबार साँझ नै पत्रकार महासंघका जिल्ला अध्यक्ष दिलाराम भुसाल र उपाध्यक्ष खगप्रसाद चापागाईंको रोहवरमा छाडेका थिए। ४ जनालाई ब्लक एमा राखिएको थियो।
आन्दोलनरत पक्षको कुटाइबाट सहनाइके विजय खत्रीको खुट्टा भाँचिएको थियो। खत्रीको कपिलवस्तु अस्पतालमा मंगलबार शल्यक्रिया समेत गरिएको अस्पताल स्रोतले जनाएको छ।
चौकीदार दामोदर थारुको समूहका केयरसिंह खत्री, सहनाइके विजय खत्री र अर्जुन थारुले शनिबार कैदीबन्दी मोहम्मद हनिफ मुसलमान, सुजन विक, निरज काकी तथा हबिबुर रहमानलाई निर्घात कुटपिट गरेका थिए। सोही दिनदेखि नारायण ओली र दामोदर चौधरी समूहबीच विवाद बढेको थियो। नारायण ओली समूहले त्यस विषयमा कारागार प्रशासनलाई जानकारी गराए पनि कुनै सुनुवाइ नभएको भन्दै सोमबारदेखि आन्दोलनमा उत्रिएका थिए।
प्रजिअ सुरुमा वार्ता नगर्ने, नभए अन्य विकल्पमा जाने पक्षमा थिए। नाइके फेर्नुपर्ने, कैदीबन्दीले पाउनुपर्ने सेवा–सुविधाहरू सही ढंगले पाउनुपर्ने लगायतका माग कैदीबन्दीका छन्। आन्दोलनमा उत्रिएका कैदीबन्दीहरू भने कारागार प्रशासनले आफूहरूलाई स्थानान्तरण गर्ने हो भन्ने आशंका गरिरहेका छन्।