मङ्लबार, असार १६, २०८३

ह्वाट्सएपमा बिना फोन नम्बर बिनै युजरनेमबाट कुराकानी गर्न मिल्ने बनाइँदै

१६ असार, काठमाडौं । ह्वाट्सएपले अब फोन नम्बरको अनिवार्यतालाई हटाउने भएको छ। अब छिट्टै यो एपले प्रयोगकर्ताहरूलाई एउटा युजरनेम रजिस्टर गर्ने र कुराकानी गर्न चाहेका मानिसहरूसँग सोही युजरनेम सेयर गर्ने सुविधा दिनेछ।

प्रयोगकर्ताहरूलाई एपमा साइन अप गर्नका लागि भने अझै पनि फोन नम्बर आवश्यक पर्नेछ। तर नयाँ च्याट सुरु गर्नका लागि कसैलाई पनि आफ्नो फोन नम्बर दिइरहनु पर्ने छैन।

कम्पनीले यस फिचरलाई साइबर सुरक्षा र गोपनीयता सुधार गर्ने बलियो माध्यमको रूपमा अगाडि सारेको छ। फोन नम्बर व्यक्तिगत हुने र यो जीवनका धेरै कुराहरूसँग जोडिने भएकाले यसलाई सुरक्षित राख्न यो परिवर्तन गरिएको हो।

उदाहरणका लागि कुनै नयाँ मानिसलाई भेट्दा वा कुनै ग्रुपमा आबद्ध हुँदा अपरिचित मानिसहरूमाझ आफ्नो फोन नम्बर सार्वजनिक गर्नुपर्ने बाध्यता हुन्थ्यो। अब यो फिचरले गर्दा अपरिचित मानिससँग फोन नम्बर सेयर नगरी च्याट गर्न सकिनेछ।

ह्वाट्सएपले यो युजरनेम अन्य सामाजिक सञ्जालको ह्यान्डल जस्तो नभएको स्पष्ट पारेको छ। किनभने ह्वाट्सएपमा मानिसहरू खोज्नका लागि कुनै पब्लिक डाइरेक्टरी वा सर्च गर्ने ठाउँ हुने छैन।

यसले कसैलाई एड गर्नका लागि सुझाव (सजेसन) पनि देखाउने छैन। यो युजरनेम फेसबुक वा इन्स्टाग्राम जस्ता अन्य सामाजिक सञ्जालकै जस्तो हुनुपर्छ भन्ने पनि छैन।

तर यसको काम गर्ने तरिका भने अरू एप जस्तै हुनेछ। प्रयोगकर्ताले एउटा युजरनेम सुरक्षित (रिजर्भ) राख्नेछन् र नयाँ मानिसहरूलाई सोही नाम दिएर च्याट सुरु गर्न सक्नेछन्। यो फिचर लागू भएपछि यो नै नयाँ डिफल्ट माध्यम बन्नेछ।

यसले गर्दा अब बन्ने कुनै पनि नयाँ कुराकानीहरू फोन नम्बरको सट्टा युजरनेमबाट नै सुरु हुनेछन् र स्क्रिनमा फोन नम्बर देखिने छैन।

प्रयोगकर्ताले आफ्नो ह्वाट्सएपलाई सबैभन्दा नयाँ भर्सनमा अपडेट गरेर अहिले नै युजरनेम सुरक्षित राख्न सक्छन्। यसका लागि ह्वाट्सएपको सेटिङ्सभित्र रहेको अकाउन्ट सेक्सनमा गएर युजरनेममा क्लिक गर्नुपर्छ। यो फिचर यो वर्षको अन्त्यतिर मात्र पूर्ण रूपमा रोलआउट हुनेछ।

यो सेवा सुरु भएपछि प्रयोगकर्ताहरूलाई एपमा नोटिफिकेसनमार्फत जानकारी दिइनेछ। ह्वाट्सएपका अनुसार प्रयोगकर्ताले आफूलाई सम्पर्क गराउन चाहेका मानिसहरूले मात्र बुझ्ने गरी एउटा फरक युजरनेम छनोट गर्नुपर्छ। उपयुक्त नाम छान्न गाह्रो भएमा सहयोगका लागि ह्वाट्सएपभित्रै एउटा युजरनेम जेनेरेटर टुल पनि उपलब्ध हुनेछ।

यसका साथै कम्पनीले डिजिटल क्रिएटर, साना व्यवसायी र विभिन्न संस्थाहरूलाई उनीहरूको फेसबुक वा इन्स्टाग्राममा पहिलेदेखि नै रहेको युजरनेमलाई ह्वाट्सएपमा पनि क्लेम गरेर सुरक्षित राख्ने अनुमति दिनेछ। यसले गर्दा उनीहरूलाई सबै प्लेटफर्ममा एउटै नाम राख्न सजिलो हुनेछ।