बैतडीको मेलौली नगरपालिका–९ का वडाध्यक्ष लोकराज भट्टविरुद्ध वडा सदस्य जनकराज भट्टले आमरण अनसन सुरु गरेका छन्। निर्माणाधीन सडकको काममा वडाध्यक्षसहित केही पक्षले अवरोध गरेको आरोप लगाउँदै उनी अनसनमा बसेका हुन्। अनसनमा पूर्व वडा सदस्य भिम दत्त भट्ट पनि सहभागी छन्।
अनसनरत पक्षका अनुसार सडक डिभिजन कार्यालय पाटनले निर्माण गरिरहेको तिनजोर्ना–हरडाखान हुँदै वडा नम्बर ९ को कार्यालय र विशालपुर स्वास्थ्य चौकी जोड्ने सडकमा अवरोध भएपछि बाध्य भएर आमरण अनसन सुरु गरिएको हो। उनीहरू मेलौली नगरपालिकाको मूलढोकानजिक ब्यानर टाँगेर अनसनमा बसेका छन्।
वडा सदस्य जनकराज भट्टले सोमबार नगरपालिकालाई लिखित रूपमा जानकारी गराउँदै अनसन सुरु गरिएको बताए। सडक निर्माणमा भइरहेको अवरोध नहट्दासम्म अनसन नतोड्ने उनको अडान छ। उनले आफूहरू पानीसमेत नखाई अनसनमा बसेको उल्लेख गर्दै समस्या समाधानका लागि नगरपालिका र स्थानीय प्रशासनले तत्काल पहल गर्नुपर्ने माग गरेका छन्। साथै, तीन दिनभित्र निर्माण कार्य सुचारु नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।
यता वडाध्यक्ष लोकराज भट्टले भने सडक चौडा पार्दा पहिरोको जोखिम बढ्ने र बस्ती नै जोखिममा पर्न सक्ने भएकाले स्थानीयवासी तथा सामुदायिक वन उपभोक्ता समितिले विरोध गरेको दाबी गरेका छन्। उनका अनुसार वडा कार्यालयसम्म ७ किलोमिटर सडक स्तरोन्नति गर्नुपर्ने भए पनि सडक डिभिजन कार्यालयले ३ किलोमिटरमा मात्रै काम सीमित गर्न खोज्दा विवाद उत्पन्न भएको हो।
वडाध्यक्ष भट्टले आफूले व्यक्तिगत रूपमा अवरोध नगरेको स्पष्ट पार्दै वातावरणीय अध्ययन प्रतिवेदन (ईआईए) बिना सडक निर्माण गर्न नदिने निर्णय सामुदायिक वन उपभोक्ता समितिले गरेको बताए। सबै पक्षबीच समन्वय गरी ७ किलोमिटर सडक स्तरोन्नतिको काम सम्पन्न गर्न सके विवाद समाधान हुने उनको भनाइ छ।
करिब तीन करोड रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त सडकको आधाभन्दा बढी काम सम्पन्न भइसकेको जनाइएको छ।