बझाङ, असार १६ — बझाङमा प्रहरीले ३५.७८ ग्राम चरेशसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार आइतबार साँझ करिब ६:२० बजे विशेष सूचनाका आधारमा जयपृथ्वी नगरपालिका–६ नौरास्थित दुदिला मष्टा किराना पसलमा प्रहरीले छापा मारेको थियो।
प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको कमाण्डमा खटिएको ६ सदस्यीय प्रहरी टोलीले पसलमा खोजतलास गर्ने क्रममा बिस्कुट राख्ने र्याकमा खैरो कागजभित्र लुकाइछिपाइ राखिएको शुद्ध ३५.७८ ग्राम चरेश बरामद गरेको हो।
उक्त चरेशसहित सोही स्थानका ३२ वर्षीय बिमल कुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका सिंहको मेडिकल परीक्षणपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।