बुधबार, असार १७, २०८३

जापानमा २७ नेपालीले रोजे आत्महत्या, तथ्याङ्कले सरकारलाई झस्कायो!

जापानमा मानसिक तनावका कारण आत्महत्या गर्ने नेपालीको संख्या चिन्ताजनक रूपमा बढ्दै गएको छ। नेपाली दूतावासका अनुसार २०८२ साउन १ देखि २०८३ असार १ सम्म ११ महिनाको अवधिमा ६६ जना नेपालीको मृत्यु भएको छ, जसमध्ये २७ जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमध्ये १६ जना विद्यार्थी भिसामा जापान पुगेका नेपाली रहेका छन्।

दूतावासका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलका अनुसार ठूलो सपना बोकेर जापान पुगेका धेरै विद्यार्थी अपेक्षा पूरा हुन नसक्दा मानसिक तनावमा पर्ने गरेका छन्। महँगो जीवनशैली, सीमित काम गर्ने अनुमति, चर्को शैक्षिक तथा होस्टेल शुल्क, नेपालबाट लिएको ऋणको दबाब र परिवारको आर्थिक अपेक्षाले उनीहरूलाई गम्भीर मानसिक दबाबमा पुर्‍याउने गरेको बताइएको छ।

हाल जापानमा करिब ३ लाख नेपाली बसोबास गर्दै आएका छन् भने नेपाली विद्यार्थीको संख्या १ लाख १६ हजारभन्दा बढी पुगेको छ। दूतावासले तोकिएको समयभन्दा बढी काम गरेको आरोपमा दैनिक २–३ जना नेपाली पक्राउ पर्ने गरेको जनाएको छ। साथै केही शैक्षिक संस्था, होस्टेल र रोजगारदाताको अव्यवस्थित व्यवहारले पनि नेपाली विद्यार्थी तथा कामदारको समस्या थप जटिल बनाएको छ।