बुधबार, असार १७, २०८३

‘भदौ २६ मै नारायणहिटी सफा गर्न लगाइएकै रहेछ!’ : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश असाधारण राजनीतिक परिस्थितिबाट गुज्रिएको दाबी गरेका छन् । उनले जेन–जी आन्दोलनपछि राजसंस्था फर्काउन निक्कै पहल भएको जिकिर गर्दै नारायणहिटी सफा गर्न लगाएकै रहेछन् भन्ने कुरा पछि आफूहरूले बुझेको बताएका छन् ।

पोखरामा आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै उनले भदौ २३ र २४ को घटनालाई प्रतिक्रान्तिकारी परिघटना भनेका छन् । निर्वाचनको समीक्षा गर्दा पनि उक्त घटनाको निरन्तरताका रूपमा परिस्थिति अगाडि बढेको आफूहरूको निष्कर्ष रहेको उनले बताए ।

प्रचण्डका अनुसार त्यसबेला देशभर अर्को ठूलो दुर्घटना हुन सक्ने सन्त्रास फैलिएको थियो । उनले भने, ‘२४ देखि २६ भित्र अर्को ठूलो दुर्घटनाको चर्चा धेरै थियो । नारायणहिटी सफा हुँदै छ, अब केही घण्टापछि अर्कै युगमा प्रवेश हुँदै छ भन्ने कुरा सुनिन्थ्यो । पछि हामीले बुझ्दा नारायणहिटी सफा त गर्न लगाएकै रहेछन् नि ।’

उनले देशलाई सम्भावित ठूलो दुर्घटनाबाट जोगाउन राष्ट्रपति, प्रधान सेनापतिलगायतसँग भएका छलफल र परिस्थितिको मूल्याङ्कनपछि निर्वाचनमा जाने निर्णय गरिएको पनि बताए ।