काठमाडौं । सुदूरपश्चिमका भारतसँग जोडिएका सीमावर्ती नाकाबाट भन्सार छली गरी अवैध रूपमा सामान भित्रिने क्रम रोकिएको छैन । विशेषगरी कैलाली र कञ्चनपुरका विभिन्न सीमा नाकाबाट दैनिक लाखौं रुपैयाँ बराबरका सामान नेपाल भित्रिने गरेका हुन् ।
कञ्चनपुरको बेलौरी नगरपालिका–१ स्थित फटैया सीमा क्षेत्र पछिल्लो समय तस्करीको प्रमुख मार्गका रूपमा प्रयोग भइरहेको स्थानीयको आरोप छ ।
उनीहरूका अनुसार भारतबाट भन्सार छली गरी ल्याइने सामान दिनरात खुला रूपमा नेपाल भित्र्याइन्छ । सीमाबाट ल्याइएका सामग्री पहिले नजिकैका सुरक्षित स्थानमा भण्डारण गरिन्छ र त्यसपछि स्थानीय बजार तथा अन्य जिल्लामा पुर्याएर बिक्री वितरण गरिने गरिएको आरोप छ ।
भन्सार छली गरेर सामान ल्याएको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएको छ । जसमा मोटरसाइकलमा अवैध सामान भित्र्याइरहेको देख्न सकिन्छ ।
उक्त नाकाबाट एयर कन्डिसनर ९एसी०, कुलर, बोयलर, कुखुरा, माछा, पेयपदार्थ, हार्डवेयर सामग्रीलगायत दैनिक उपभोगका वस्तुहरू अवैध रूपमा भित्रिने गरेका छन् । यसबाट राज्यले ठूलो राजस्व गुमाइरहेको छ ।
सीमामा तैनाथ सुरक्षा निकायले बेला–बेलामा तस्करीका सामान बरामद गर्दै आए पनि अवैध कारोबार पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन ।
कतिपय व्यापारीले सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी गरेर सामान भित्र्याउने गरेको आरोप छ । गड्डाचौकी कञ्चनपुरको मुख्य अन्तर्राष्ट्रिय सीमा नाका हो । तर अन्य धेरै स्थानहरू खुला सीमा भएकाले त्यहाँबाट तस्करी बढेको छ ।
दोधारा–चाँदनी, बेलौरी–फटैया, झलारी–कालिका क्षेत्रका सीमा मार्गहरू, पुनर्वास नगरपालिका क्षेत्र र लालझाडी गाउँपालिका क्षेत्रका विभिन्न सीमाबाट तस्करी बढेको आरोप छ ।
यता कैलालीका विभिन्न नाकाबाट पनि तस्करी बढेको आरोप छ । कैलालीको त्रिनगर र खक्रौला मुख्य भन्सार नाका हुन् । अन्य स्थानमा पनि खुला सीमा छन् । बढी जस्तो ती सिमाबाट तस्करी हुने गरेको आरोप छ ।
यहाँका कुसुमघाट, श्रीलङ्का, छोटीपलिया, कालाकुण्डा लगायतका सीमाबाट तस्करी भइरहेको बताइन्छ । ती स्थानमा सशस्त्र प्रहरी विओपी भए पनि तस्करी भने बढेको बढ्यैछ । दिनहुँ लाखौँको सामान बरामद हुने गरेका छन् । तर अझै पनि तस्करी हुने क्रम रोकिएको छैन ।
सुरक्षा निकाय कै मिलेमतोमा अवैध तस्करी हुने गरेको स्थानीयहरु नै बताउँछन् । सशस्त्र प्रहरी बल नेपाल नं ७ बैद्यनाथ बाहिनीपति डीआईजी दिगविजय सुवेदी छन् । उनले अवैध तस्करी नियन्त्रण गर्न प्रभावकारी भूमिका खेल्न नसकेको आरोप छ ।
केही दिनअघि गृहमन्त्री सुधन गुरुङले तस्करी बढेको गुनासोपछि मधेशका विभिन्न नाकामा भेष बदलेर छड्के अनुगमन गरेका थिए ।
-यो समाचार अनलाइन नेपालले लेखेको छ ।